चिया, कफी अनि मीऽऽऽठो गफ

खोजे जस्तो चिया नपाएपछि जन्मियो ‘चिया सागर’
शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ– अधिकांश नेपालीको घरमा दिनको सुरुआत चियाबाट नै हुन्छ । 

दिनभरको थकान मेटाउन होस् वा कामबाट ‘बोर’ भएर रिफ्रेस हुनुपरेमा पनि चियाले महत्वपूर्ण भूमिका खेल्ने गरेको पाइन्छ । 

झन् यो जाडो मौसममा त चिया पिउनुको मज्जा नै बेग्लै हुने गर्छ । तर अहिले बजारमा उही घरको जस्तै स्वाद र आनन्दसँग बसेर चिया खान पाउने ठाउँ पाउन मुस्किल पर्छ । 

त्यसैलाई ध्यानमा राख्दै चिया पारखीहरूका लागि स्थापित छ– चिया सागर । 

काठमाडौँको नयाँ बानेश्वरमा रहेको के एन्ड के कलेजको ठिक अगाडि छ– चिया सागर ।

प्रकाश पौडेल, केशवराज शर्मा र नवीन शर्मा मिलेर सञ्चालनमा ल्याएको चिया सागरमा करिब २ दर्जनभन्दा बढी चियाका प्रकार पाइन्छन् ।

chiya sagar (6)1676604091.jpg

फरक–फरक पेसामा आबद्ध रहेका ४७ बर्से केशव, ३६ बर्से नवीन र ४० बर्से प्रकाश पनि चिया पारखी नै हुन् । 

जुनसुकै मौसममा चिया–कफी पिउन तलतल लाग्ने उनीहरू काठमाडौँका सानातिना चिया पसलदेखि ‘स्ट्यान्डर्ड’ मानिने क्याफेसम्म पुगे । तर उनीहरूले खोजेको स्वाद भने पाइएन ।

सफा, स्वस्थ र आनन्दले चिया पिउने ठाउँको खोजीमा रहेका उनीहरूलाई एक दिन आफैँ ‘चिया पसल खोलौँ न त’ भन्ने सोच आयो ।

यो २०७६ सालतिरको कुरा हो, जसमा सबैको कुरा मिल्यो ।  

चिया सागरका सञ्चालकमध्येका नवीन भन्छन्, ‘कतिपय ठाउँमा चिया–कफी मिठो भए पनि अस्वच्छ वातावरण र स्तरीय सेवा नहुने । कहीँ आनन्दको वातावरणमा राम्रो ग्राहक सेवा तर नमिठो स्वाद । कतिपय ठाउँमा त फर्केरै जान मन लाग्दैन ।’

chiya sagar (7)1676604091.jpg

‘थुप्रै ठाउँ गइयो, तर स्वाद, वातावरण र ग्राहक सेवा सबैमा अब्बल कतै भेट्न सकिएन । फुटपाथदेखि ठुला रेस्टुरेन्ट र चिया विशेष खुलेका क्याफेसम्म पुगेर खायौँ,’ उनले भने, ‘तर कहीँ यो चाहिँ पक्का ठिक छ भन्ने पाएनौँ । चिया पकाउने भाँडा सफा नहुने, चियापत्ती नफेर्ने त सामान्य भयो । तर केही ठाउँमा अशिष्ट व्यवहार त कहीँ महँगोमा पनि नमिठो चिया पिउनुपर्‍यो ।’

बरू आफैँ चिया पसल खोलेर बजारमा खट्किएको अभाव पूरा गर्ने सोच उनीहरूमा आयो । नवीनले भने, ‘स्वस्थ, स्वादिष्ट चिया–कफीका साथमा राम्रो ग्राहक सेवा दिने योजना बनायौँ ।’

chiya sagar (4)1676604091.jpg

त्यही योजना साकार पार्न उनीहरूले करिब ३ वर्षसम्म बजार अध्ययन गरे । ग्राहकको रूचि र आवश्यकता केलाए । अनि गत असार ३१ गते चिया सागर सञ्चालनमा ल्याइयो । 

३ हजार स्क्वायर फिट क्षेत्रफलमा रहेको चिया सागरमा १ पटकमा २०० जना बसेर चिया पिउन सकिन्छ । 

हाल चिया सागरमा २ दर्जनभन्दा बढी स्वादको चिया पाक्छ । भविष्यमा यसलाई बढाउने योजना रहेको सञ्चालक नवीन बताउँछन् । 

अहिले यहाँको मेनुमा मट्का, मसला, घरको चिया, हर्बल, ग्रिन, आइस टी लगायत उपलब्ध छ । यसबाहेक कफी, स्मुदी, मिल्क सेक, फ्रापेसँगै ‘युथ भिजन बेकरी’ को सहकार्यमा तयार पारिएका बेकरी परिकार पाइन्छ । 

‘हरेक प्रकारको चियापत्ती र कच्चा मसलाका लागि आधिकारिक आपूर्तिकर्तासँग सहकार्य गरेका छौँ,’ नवीनले भने, ‘चियाको विशेष मसला भने हामी आफैँ तयार पार्छौं ।’

chiya sagar (2)1676604090.jpg

मसला बनाउन पनि निकै समय लागेको नवीन बताउँछन् । चिया पसल खोल्ने योजना बनेको छोटो समयमै लकडाउन भयो । त्यसै समय उनीहरूले मसलाबारे अध्ययन गरे । 

करिब ७–८ महिना आफैँ चिया पकाएर मसलाको स्वाद परीक्षण गरे । त्यसैले यहाँको चियाले ग्राहकको स्वास्थ्यलाई हानि नगर्ने उनी दाबी गर्छन् । एकपटक पकाएपछि भाँडा सफा गरेर मात्रै अर्को चिया पकाइन्छ,’ उनले भने । 

चिया सागरमा ५० रुपैयाँमा माटोको कपमा ६० मिलिलिटर ‘सिंगल’ मट्का चिया पाइन्छ । मट्का चिया ‘डबल’ का लागि ९० रुपैयाँ तिनुपर्छ, जुन १२० मिलिलिटरको सेरामिक कपमा दिइन्छ ।

यहाँको सबैभन्दा महँगो चिया ‘पट’ हो, जसको ३५० रुपैयाँ पर्छ । ५०० मिलिलिटरको पट (कितली) मा ७ देखि ८ जनालाई पुग्ने चिया यसमा आउँछ । नवीनका अनुसार सबैभन्दा बढी रूचाइएको पनि यही चिया हो ।

chiya sagar (1)1676604090.jpg

यहाँको चिया खाने कप पनि ग्राहकहरूको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । यी कपहरू सबै भक्तपुरमा बनाइन्छ । 

यहाँको सजावटमा आधुनिकसँगै नेपाली मौलिक वस्तुले पनि स्थान पाएका छन् । भित्र सिलिङ र भित्ताहरूमा नाङ्लो टालिएको छ । डालो उल्टो झुन्ड्याएर भित्र बत्ती राखिएको छ ।

चिया सागरको वातावरण परम्परागत र आधुनिकताको मिश्रण हो । विशेष गरी युवाहरूलाई ध्यानमा राखेको भए पनि बूढाबूढीदेखि युवायुवती दुवै बराबर संख्यामा आउने गरेको नवीन बताउँछन् । 

‘हामीलाई चिया सागर नाम रोज्न पनि करिब १ महिनै लागेको थियो । सुरुमा टी टाइम नाम राख्ने सोचेका थियौँ,’ नवीन भन्छन्, ‘तर त्यो त्यति मन परेन । पछि खोज्दै जाँदा चिया सागर नाम फेला पर्‍यो । अहिले त यो नाम हाम्रा लागि अत्यन्तै प्यारो भएको छ ।’

chiya sagar (3)1676604090.jpg

नवीन, केशव र प्रकाशले चिया सागर सञ्चालन गर्न ६० लाख रुपैयाँ लगानी गरेका छन् । उनीहरूमध्ये कोही न कोही एक जना चिया सागरमा हुन्छन् । यसबाहेक ९ जना कर्मचारी छन् ।

चिया सागर बिहान ७ बजेदेखि बेलुकी साढे ८ बजेसम्म खुला हुन्छ । केशवका अनुसार अहिले दैनिक १५० देखि २०० जनासम्म ग्राहक पुग्छन् । प्रायः युवा पुस्ता ग्राहक समूहमा आउँछन् । तीमध्ये केही त यहाँका नियमित ग्राहक भइसकेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ०९:०९
प्रतिक्रिया दिनुहोस्