नयाँ बसपार्क क्षेत्रमा काम गर्ने वातावरण बनाउन माग

बुधबार, फागुन ३, २०७९

काठमाडौँ– काठमाडौँको नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले नयाँ बसपार्कमा काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

लोत्से बहुउद्देश्यीय प्रालिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले फागुन १ गते नयाँ बसपार्कमा सञ्चालित लोत्से मल तोडफोड र मोबाइल पसल चोरी भएको भन्दै नयाँ बसपार्कको सुरक्षा र काम गर्ने वातावरण निर्माण गर्न माग गरेका हुन् ।

‘कानुनसम्मत रुपमा काठमाडौँ महानगरपालिकासँग निश्चित समयका लागि सम्झौता गरेर सञ्चालन गरिएको नयाँ बसपार्कको सञ्चालक समूहलाई मजदुरका नेताले बारम्बार धम्की दिने तथा दुःख दिने काम हुँदै आएको छ, बनाइएका संरचनामा तोडफोड गरिएको छ, नयाँ बसपार्कमा कार्यरत कर्मचारीको सुरक्षा र यहाँ काम गर्ने वातावरण निर्माण गरियोस्’, उनले भने ।

अध्यक्ष कुँवरले नयाँ बसपार्कभित्र विभिन्न ट्रेड युनियन सङ्घ सङ्गठनले मजदुर भेला तथा आमसभाको लागि ठाउँ माग्दा ठाउँ उपलब्ध नगराएको कारण मलभित्र चोरी तथा तोडफोड भएको बताए ।

‘लोत्सेले नयाँ बसपार्क सञ्चालनका लागि निश्चित समयका लागि काठमाडौँ महानगरपालिकासँग सम्झौता गरेको छ, सम्झौता सकिएपछि यहाँ निर्माण भएका भौतिक संरचना महानगरपालिकालाई जिम्मा लगाउँछौँ, राज्यको सम्पत्तिमाथि किन यसरी प्रहार हुँदैछ ?’, उनले प्रश्न गरे ।

कोरोना र आर्थिकमन्दीका कारण थला परेका व्यवसायीको पसल चोरी हुनु तथा अर्बौँ लगानी गरेर बनाएको मलमा क्षति पुग्दा व्यवसायी र राज्यलाई ठूलो क्षति भएको उनको भनाइ छ ।

लोत्से मलभित्र चोरी तथा तोडफोडका घटनाबाट  १५ करोड रुपैयाँको क्षति भएको अध्यक्ष कुँवरले बताए ।

उनले मलभित्र भएको क्षतिको क्षतिपूर्ति र घटनामा संलग्न मजदुर नेतालाई अविलम्ब पक्राउ गरी कारबाही गर्न मागसमेत गरे । उनले सोही दिन झुटा आरोप लगाएर पक्राउ परेका लोत्सेका कर्मचारीलाई रिहा गर्नसमेत माग गरेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १९:३७
प्रतिक्रिया दिनुहोस्