नेभिगेशन
समाज विविध

तलब नपाएपछि शिक्षक आन्दोलनमा

कपिलवस्तु –लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् ।  

नगरपालिकाले ६ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरूको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा बुधबार पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म निश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक महासङ्घका नगर सहअध्यक्ष राजेशकुमार यादवले बताए ।  

मङ्गलबार पनि नगरभरिका शिक्षक विद्यालय बन्द गरी नगरपालिकाको कार्यालयअगाडि धर्नामा बसेका थिए । तलब पाउनुपर्ने माग राख्दै नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाइएको थियो । 

नगरपालिकामा ३२ सामुदायिक विद्यालय छन् । त्यसमध्ये ७ मावि र बाँकी आधारभूत विद्यालय छन् । ती विद्यालयमा हाल २३० शिक्षक,  ७० विद्यालय कर्मचारी र ३० कार्यालय सहयोगी कार्यरत छन् ।  

शिक्षकहरूको समस्या समाधान चाँडै गरिने नगर उपप्रमुख पुनम कर्णले बताए । प्रमुख प्रशासकीय अधिकृत र लेखापालका कारण यो समस्या सिर्जना भएको उपप्रमुख कर्णको भनाइ छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

निकुञ्जमा गैँडा हेर्ने समय