विश्वप्रकाशले सुझाए राजनीति रूपान्तरणका ४ विमर्श

बुधबार, फागुन ३, २०७९

काठमाडौँ –नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले राजनीतिमा रूपान्तरणसहित ४ विषयमा विमर्श जरूरी रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद शर्माले राजनीतिमा रूपान्तरण, सामाजिक विसंगतिहरूको अन्त्य, झन्झटिलो प्रशासनिक प्रक्रियामा सुधार र आर्थिक विषमताको अन्त्यका लागि विमर्श जरूरी रहेको बताएका हुन् ।

‘यी चार विषयमा गम्भीर राष्ट्रिय विमर्श जरूरी छ,’ उनले भने ।

शर्माले आत्मदाह गरेका इलामका प्रेम आचार्यको घरमा पुगेको उल्लेख गर्दै असन्तुष्टि, आवेग र वितृष्णाका अनेक कारण, निराकरण गरेर परिवेशमा परिवर्तन गर्नु राज्य, राजनीतिक दलहरू एवं असल समाजको कर्तव्य हुने बताए । 

उनले भने, ‘मानसिक अस्वस्थता, पारिवारिक सम्बन्धको द्वन्द्व अनि व्यक्तिको आकांक्षा र परिवेश बीचको असन्तुलन आत्महत्याको मुख्य कारण निश्चय नै हुन् । तर असन्तुष्टि, आवेग र वितृष्णाका अनेक कारण, निराकरण गरेर परिवेशमा परिवर्तन गर्नु जिम्मेवार राज्य, राजनीतिक दलहरू एवं असल समाजको कर्तव्य हुन्छ ।’

शर्माले आत्महत्याका दरसमेत पछिल्लो समय वृद्धि भइरहेको र यसको कारण व्यक्तिको आकांक्षा र परिवेशबीच असन्तुलन रहेको बताए ।


 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार