मन्त्रीकाे निर्देशनपछि

६ करोड खर्चेर टालिए काठमाडौँका सडकका ७० प्रतिशत खाल्डाखुल्डी

मंगलबार, फागुन २, २०७९

काठमाडौँ– काठमाडौँ उपत्यकाभित्र सडक मर्मत र खाल्डाखुल्डी पुर्ने काम झन्डै ७० प्रतिशत सकिएको छ ।

सडक विभागका अनुसार काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी र मर्मत सम्भार १५ दिनभित्रै गरिएको हो ।

सडक विभागले उपत्यकाभित्रको ४२० किलोमिटर सडक हेर्ने गर्छ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा गरी सडक विभागअन्तर्गत पर्नेमध्ये २९४ किलोमिटरका सडकको मर्मत सम्भार र खाल्डाखुल्डी पुर्ने काम सकिएको विभागका प्रवक्ता भीमार्जुन अधिकारीले सिएन नेपाललाई जानकारी दिए । 

‘काठमाडौँ उपत्यकाभित्र सडक विभागले हेर्ने भनेको ४२० किलोमिटर सडक हो । ती सडकहरूमा ठुलो समस्या पहिले पनि थिएन । उपप्रधानमन्त्रीज्यू आइसकेपछि काठमाडौँका सडकमा एउटा पनि खाल्डो नराखौँ भनेर अभियान सुरु गर्नुभयो, त्यसलाई हामीले सहर्ष स्वीकार ग¥यौँ,’ उनले भने, ‘१५ दिनको अवधिभित्र करिब ७० प्रतिशत खाल्डाखुल्डी पु¥यौँ ।’

बाँकी ३० प्रतिशत सडकको भने मर्मत हुन नसकेको उनी बताउँछन् । ‘बाँकी ३० प्रतिशतमा विभिन्न निकायको भौतिक संरचना छ । टेलिकम, विद्युत्, खानेपानीका पाइप जडान पनि सडकमै गरिएको छ,’ उनले बताए ।

काम गर्न सकिने र तुरुन्त भत्काउनु नपर्ने सडकको मर्मत भइरहेको उनको भनाइ छ । विभागले नियमित सडक मर्मत सम्भारको काम गर्दै आइरहेको छ ।

काठमाडौँ उपत्यकाभित्रका खाल्डाखुल्डी पुर्न र सडक मर्मतका लागि अहिलेसम्म ६ करोड रुपैयाँ खर्च भएको विभागको दाबी छ ।

सबैभन्दा बढी काठमाडौँभित्रका सडकको मर्मत सम्भारमा करिब ४ करोड रुपैयाँ खर्च भएको छ ।

सडक डिभिजन काठमाडौँका प्रमुख नारायणप्रसाद निहुरेका अनुसार काठमाडौँभित्रका सडकका खाल्डाखुल्डी पुर्न र मर्मतका लागि ४ करोड बजेट खर्च भइसकेको छ । काठमाडौँभित्रका अधिकांश सडकका खाल्डाखुल्डी पुरिसकिएको उनले बताए ।

यता, सडक डिभिजन ललितपुर र भक्तपुरले १÷१ करोड रुपैयाँ रकम सडक मर्मत र खाल्डाखुल्डी पुर्न खर्च गरिसकेको विभागले जनाएको छ । त्यसबाहेक विभागले नियमित रूपमा गर्ने र पटके मर्मतअन्र्तगत पनि सडकको मर्मतसम्भार गरिरहेको छ ।

देशभरका ठुला र गौरवका राजमार्गको पनि मर्मत र खाल्डाखुल्डी पर्ने काम सम्बन्धित सडक डिजिभन कार्यालयमार्फत गरिरहेको विभागले जनाएको छ ।

सडक विभागबाहेक काठमाडौँ उपत्यकाका स्थानीय तहले पनि सडक मर्मत र खाल्डाखुल्डी पुर्ने काम गरिरहेका छन् । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले पदबहाली गरेपछि काठमाडौँका सडकको अनुगमन गरेका थिए । 

उनले सीतापाइलास्थित छाउनी सडकखण्डको अनुगमनपछि १५ दिनभित्र उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार