६२/६३ को आन्दोलन अपूर्ण छ, निर्वाचनबाट पूरा गर्नुपर्छ : शंकर पोखरेल

मंगलबार, फागुन २, २०७९

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०६२/६३ को आन्दोलन अपूर्ण रहेको र त्यसलाई पूर्णता दिन आवश्यक रहेको बताएका छन् । 

एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३औँ राष्ट्रिय महाधिवेशनलाई मंगलबार काठमाडौँमा सम्बोधन गर्दै २०६२/६३ को आन्दोलनले नेतृत्व स्थापित गर्न नसकेको बताएका हुन् । 

‘हामीले २०६२/६३ को आन्दोलनलाई जनक्रान्ति भन्यौँ । तर, त्यो आन्दोलन अपूर्ण छ । हरेक क्रान्तिले नयाँ नेतृत्व स्थापित गर्छ । २०६२/६३ को आन्दोलनले कसको नेतृत्व स्थापित गर्‍यो ? कसैको नेतृत्व स्थापित गरेको छैन । नेपालको आन्दोलन अपूर्ण छ’, पोखरेलले भने ।

त्यसलाई अर्को रूपमा नेपालको आन्दोलन मौलिक छ भन्न पनि मिल्ने उनले बताए । २०६२/६३ को अपूर्ण आन्दोलनलाई निर्वाचन प्रतिस्पर्धाबाट पूर्णता दिनुपर्ने पोखरेलले बताए । निर्वाचनको माध्यमबाट एमाले नै देशको नेतृत्वमा स्थापित हुने पनि उनले दाबी गरे ।

‘परिणामका हिसाबले दोस्रो पार्टी भए पनि लोकप्रिय मतका आधारमा नेपाली जनताको रोजाइको पहिलो पार्टी भएको छ । एमाले र नेतृत्वलाई घेराबन्दी गरिएका कारण हामी दोस्रो दलको रूपमा रहन बाध्य भयौँ । निर्वाचनको माध्यमबाटै एमाले देशको नेतृत्व गर्ने दलको रूपमा स्थापित हुन्छ’, पोखरेलले भने । 

एमालेलाई देशको नेतृत्व गर्ने शक्तिको रूपमा स्थापित गराउन अनेरास्ववियुको महत्वपूर्ण भूमिका हुने उनले बताए । 

‘काम गर्ने पार्टीको रूपमा एमाले सरकारमा आउँदा नागरिक समाजका अगुवा सडकमा आउँछन् । त्यसबेला अनेरास्ववियु सडकमा देखिनुपर्ने हो । देखिने गरेको छैन’, उनले भने ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १५:२५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार