७ वर्षपछि महाधिवेशन

को–को छन् अनेरास्ववियुको नेतृत्वका आकांक्षी

मंगलबार, फागुन २, २०७९

काठमाडौँ– नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३औँ राष्ट्रिय महाधिवेशन उद्घाटन भएको छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रज्ञा भवनमा आयोजित विशेष समारोहमा अनेरास्ववियुको महाधिवेशन उद्घाटन गरेका हुन् । उद्घाटनमा ड्रोनको प्रयोग गरिएको थियो ।

हरेक ३ वर्षमा हुने राष्ट्रिय महाधिवेशन यसपटक ७ वर्षपछि हुन लागेको हो । यसअघि नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता र विभाजन, एमालेको विभाजन आदि कारणले अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन हुन सकेको थिएन । 

नेतृत्वमा आकांक्षी धेरै

७ वर्षसम्म राष्ट्रिय महाधिवेशन नभएका कारण अनेरास्ववियुमा नेतृत्वमा पुग्न चाहने आकांक्षीको संख्या धेरै छ । 

अनेरास्ववियुका तत्कालीन अध्यक्ष ऐन महर एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएपछि २०७८ को असोजमा एमालेको सचिवालय बैठकले सुनिता बराललाई विद्यार्थी संगठनको अध्यक्ष बनाइएको थियो । 

२०७८ मंसिरमा भएको एमालेको दसौँ महाधिवेशनबाट बराल पनि एमालेको केन्द्रीय सदस्य भएकी थिइन् । उनी अहिले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकी छिन् । 

बराल माथिल्लो कमिटीमा पुगेको र महाधिवेशन पनि समयमा नभएको भन्दै अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको निर्णय भएको थियो । 

२३औँ राष्ट्रिय महाधिवेशनबाट अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालले अध्यक्षमा दाबी गरेका छन् । 

त्रिभुवन विश्वविद्यालयमा चैत ५ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव तोकिएको र त्यसको सम्मुखमा महाधिवेशन भएको भन्दै नेतृत्व चयनमा सकेसम्म सहमतिको प्रयास भइरहेको छ ।

अनेरास्ववियु महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मोर्चा संगठन विभागका प्रमुख भानुभक्त ढकालले सकेसम्म सहमतिमा नेतृत्व चयनको प्रयास गरिने बताए । 

अन्य जनवर्गीय संगठनमा रहेका व्यक्तिले भने अनेरास्ववियुको नेतृत्वमा दाबी गर्न नपाइने उनले बताए । 

तर, अनेरास्ववियुका नेताहरूले भने अध्यक्षमा सहमतिको सम्भावना नदेखिएको बताउने गरेका छन् ।

नेतृत्व चयनका लागि चुनाव नै गर्नुपर्ने अवस्थामा पनि उम्मेदवारहरूले प्यानल बनाउन नपाउने ढकालले बताए ।

नेतृत्व चयनको सन्दर्भमा चुनावी प्रतिस्पर्धा नै भएको अवस्थामा भने उपाध्यक्ष झपिन्द्र खत्री, वाङ्छु योञ्जन, लोकेश निरौला, उमेश आचार्य र मोती विक पनि उम्मेदवार हुने बताइरहेका छन् ।

सहमति भएको अवस्थामा भने अध्यक्षको दाबीबाट पछि हटेर सहमतिका आधारमा प्राप्त हुने जिम्मेवारीमा रहेर काम गर्ने उनीहरूले बताएका छन् । 

वर्तमान उपाध्यक्ष कल्पना वाइबाले पनि महासचिवमा उम्मेदवारी घोषणा गरिसकेकी छिन् । सहमति कायम हुँदा महासचिव भने आफूले पाउनुपर्ने दाबी झपिन्द्र खत्रीले गरेका छन् ।

चुनाव भएको अवस्थामा भने संगठन विभाग प्रमुख सुदर्शन सिवाकोटीले पनि महासचिवमा उम्मेदवारी दिने बताएका छन् । 

त्यसैगरी, उपमहासचिव नरेश रोकाया, गोविन्द गिरी, भाष्कर खनाल, नारायण घर्ती र सचिव धर्म गिरीले पनि महासचिवका लागि प्रतिनिधिहरूबीच मत मागिरहेका छन् ।

अनेरास्ववियुको उपाध्यक्षमा कोषाध्यक्ष जेनिश लामा, एलबी सिंह, मर्यादा विष्ट, रामशरण चौधरी, तपेन्द्र शाही, डम्बर अधिकारीले दाबी गरेका छन् । 

अनेरास्ववियुको सचिवका लागि भने करिब ७५ जनाले दाबी गरिरहेका छन् । 

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनले १९९ जना केन्द्रीय सदस्य, १७ जना पदाधिकारी निर्वाचित गर्नेछ । 

त्यसैगरी, १५–१५ सदस्यीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोग निर्वाचित गर्नेछ । 

अनेरास्ववियुको स्थायी कमिटी भने ६६ सदस्यीय हुने गरी विधान पारित गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १५:१७
प्रतिक्रिया दिनुहोस्