राष्ट्रपतिमा उम्मेदवार उठाउन सक्छौँ : खनाल

‘अहिलेको गठबन्धन भत्किने देखिँदैन’
मंगलबार, फागुन २, २०७९

धनगढी– नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझ तरिकाले निर्णय लिनुपर्ने बताएका छन् । 

धनगढीमा समाजवादी प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त धारणा राखेका हुन् । 

‘राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण विषय हो । यसमा सबै राजनीतिक दलले सुझबुझ, दूरदर्शिता, संविधानको मर्म र भावनाका साथ राम्रो व्यक्तित्वलाई पदमा पु¥याउनुपर्छ’, उनले भने, ‘त्यसका लागि सबै पार्टीले समन्वय गरी अघि बढ्नुपर्छ ।’

उनले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने उल्लेख गरे ।

यस्तै, राष्ट्रपतिमा राजनीतिक मान्छे नै हुनुपर्ने र गैरराजनीतिक मान्छेलाई राष्ट्रपति बनाउँदा लोकतन्त्र नै समस्यामा पर्ने उनको भनाइ छ । 

उनले अहिलेको एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेको दाबी पनि गरे । ‘अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्तो केही सम्भावना देखिरहेको छैन’, उनले भने ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्