सभापति देउवासँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

सोमबार, फागुन १, २०७९

काठमाडौँ–नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहेका भारतका विदेश सचिव विनयमोहन क्वात्राले भेट गरेका छन् ।

देउवा निवास धुम्रबाराहीमा भएको भेटवार्तामा द्विपक्षीय पारस्परिक हितका विभिन्न विषय र दुई देशका जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ । 

सो अवसरमा सभापति देउवाले हाम्रो साझा लक्ष्य दुई देशका जनताको हितमा नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाएको बताएका थिए ।

विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका हुन् । यसअघि उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । आजै उनले परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्नाका साथै सचिवस्तरीय बैठकमा सहभागी भएका थिए ।

विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  २१:२९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार