व्यापारिक मार्ग विस्तार गर्न ३४ घर भत्काइयो

सोमबार, फागुन १, २०७९

इटहरी –सडक विस्तारका लागि इटहरी उपमहानगरपालिकाले डोजर चलाएको छ ।

विराटनगरको रानी– किमाथाङ्का व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत इटहरी बजार क्षेत्रमा सडक नक्साभित्र परेका घरहरू नगरपालिकाले भत्काएको हो ।

प्रमुख हेमकर्ण पौडेलसहितको टोलीले इटहरी उपमहानगरपालिका– ६ मा पर्ने ३४ घर भत्काएको हो । उपमहानगरले घर भत्काउनका लागि शनिबारसम्मको अल्टिमेटम दिएको थियो । अटेर गरेपछि आइतबार महानगरले डोजर चलाएको हो ।

प्रमुख पौडेलले ६ लेन सडक विस्तार गर्न सडक विस्तार आयोजनाले पटक–पटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि भत्काइएको बताए । उपमहानगरले यसअघि वडा –९ का १४ वटा घरहरू भत्काएको थियो ।

इटहरीको मुख्य बजार क्षेत्रको चोकभन्दा दक्षिणतर्फ विराटनगर लाइनको बसपार्कसम्म झन्डै ३०० मिटर सडक विस्तार हुन सकेको छैन् ।

साइट क्लियर नभएका कारण विस्तार नभएको हो । उपमहानगरले संरचना भत्काएपछि काम अघि बढ्ने बताइएको छ ।

इटहरीको मुख्य चौकदेखि उत्तर तरहरासम्म ६ लेन सडकको काम भने सकिएको छ ।

इटहरी बजारको मुख्य चोकभन्दा दक्षिणतर्फदुवैतर्फ १५–१५ मिटर विस्तार गर्ने तयारी छ ।

कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये सुनसरीको दुहबी र तरहरादेखि धरानसम्म विस्तार हुन् बाँकी छ । धरानको तिनकुनेदेखि सेउतीसम्म झन्डै ४ किलोमिटर सडक विस्तारको भइसकेको छ । ६ लेन सडक परियोजनाको काम २०६९–७० बाट सुरु भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १४:४१
प्रतिक्रिया दिनुहोस्