नेभिगेशन
समाज विविध

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक सुरु

काठमाडौँ –नेपाल र भारतका परराष्ट्र सचिवको प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ । याक एण्ड एति होटलमा सोमबार परराष्ट्र सचिवस्तरीय बैठक सुरु भएको हो । 

बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र भारतको तर्फबाट विदेश सचिव विनय मोहन क्वात्राले नेतृत्व गरेका छन् । 

परराष्ट्र सचिव पौड्यालको निमन्त्रणामा क्वात्राको नेतृत्वमा ४ सदस्यीय टोली सोमबार बिहान भारतीय वायु सेनाको जहाजबाट काठमाडौं आइपुगेको हो । टोलीमा भारतीय विदेश मन्त्रालयमा नेपाल डेस्क प्रमुख (नर्थ) सहसचिव अनुराग श्रीवास्तवसमेत छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल हुनेछ । कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिलगायत सहकार्यका विषयमा पनि छलफल हुने छ ।

विदेशसचिवको कार्यभार सम्हालेपछि क्वात्राको यो पहिलो नेपाल भ्रमण हो । २ देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरूप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश सचिवले आजै परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

विदेश सचिव क्वात्राले सोमबार नै परराष्ट्र मन्त्री विमला राईसँग द्विपक्षीय भेटघाट गर्नेछन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गरिने छ ।

सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । उनी त्यसका लागि बालकोट जानेछन् । विदेश सचिव क्ववत्राले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई भेटघाट गर्नेछन । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

रसुवा बाढी : ७ जनाको शव फेला