नेभिगेशन
अर्थ विविध
विकासको सुस्त गति

राष्ट्रिय गौरवका आयोजनाका लागि झन्डै १ खर्ब बजेट, १५ करोड मात्रै खर्च

काठमाडौँ– सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि कुल ९८ अर्ब ९७ करोड ६४ लाख बजेट विनियोजन गरेको थियो । तर, आर्थिक वर्षको आधा समय बितिसक्दा जम्मा १५ अर्ब ८ लाख रूपैयाँ मात्रै खर्च भएको छ । 

अर्थमन्त्री विष्णु पौडेलले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षामा राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा भएको खर्च निराशाजनक देखिन्छ । 

राष्ट्रिय गौरवका २४ वटा आयोजना निर्माणाधीन छन् । सरकारले राष्ट्रिय गौरवका आयोजनामा पुँजीगत खर्च गर्नका लागि ८८ अर्ब ५३ करोड ८५ लाख रूपैयाँ बजेट छुट्टयाएको थियो । 

तर, आर्थिक वर्षको ६ महिनामा जम्मा १४ अर्ब ५ करोड १६ लाख रुपैयाँ मात्रै खर्च भएको छ । पुँजीगत खर्चमा छुट्याइएको बजेट आयोजनको पूर्वाधार निर्माणका लागि खर्च हुन्छ । 

राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनका लागि आवश्यक कार्यालय, जनशक्तिलगायत व्यवस्थापकीय पक्षमा खर्च गर्न सरकारले ३ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये ६ महिनामा ८० करोड ७९ लाख रुपैयाँ खर्च भएको छ । 

राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनका लागि सरकारले वित्तीय व्यवस्थातर्फ ६ अर्ब ८६ करोड बजेट छुट्याएको थियो । त्यसमध्ये १४ करोड १३ लाख रुपैयाँ मात्रै खर्च भएको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

गण्डकीमा घट्दै बर्खे धान खेती