नेभिगेशन
अर्थ विविध

बैंकविरुद्ध उद्योगी व्यवसायीहरूका ९ महासंघ र ३८ वटा संघहरूद्वारा संयुक्त आन्दोलनको घोषणा

काठमाडौँ –उद्योगी व्यवसायीहरूका ९ वटा महासंघ र ३८ वटा संघहरूले बैंकहरूविरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् । 

संघर्ष समितिका संयोजक नरेश कटुवालले ५ फागुनमा उद्योगी व्यवसायीहरूका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरूले बैंकहरूविरुद्ध वृहत् संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेको बताए । 

व्यवसायीहरूले पछिल्लो समय बैंकहरूले बढाएको चर्को ब्याजदरविरुद्ध आन्दोलन गर्दै आएका छन् । संयुक्त मूल संघर्ष समितिका संयोजक कटुवालले उद्योगी व्यवसायीहरूमा रहेको सिण्डिकेटको अन्त्य र बैंकको ज्यादतीविरुद्ध सडक आन्दोलन घोषणा गर्न लागिएको बताए । 

समितिले लामो समयदेखि उद्योगी व्यवसायीहरूले उठाउँदै आएका माग सम्बोधन गर्न सरकार उदासीन देखिएकाले सडक आन्दोलनमार्फत् आफ्ना मागहरू राख्न बाध्य हुनुपरेको जनाएको छ । संयोजक कटुवालले उद्योगी व्यवसायीहरूको माग सुनुवाइ सरकारले नगरेकाले पुनः सडक आन्दोलनमा जान बाध्य भएको बताए । 

उनले पछिल्लो कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरूका कुनै पनि माग सम्बोधन नगरेको आरोप लगाए । 

उद्योग र व्यापारमा रहेको सिण्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरूको पहुँचसहितको बैंकहरूका ज्यादतीविरुद्ध थप आन्दोलनका घोषणा गरिएको उनको भनाइ छ । 

५ फागुन पछि पनि सरकारले व्यवसायीहरूको माग सम्बोधन नगरे  थप आन्दोलनका कार्यक्रम गर्दै जाने पनि कटवालले चेतावनी दिए । पहिलो चरणको आन्दोलनमा सम्पूर्ण उद्योगी व्यवसायीहरूले बैंकिङ कारोबार बन्द गर्ने छन् । त्यसपछि पनि राज्यले उद्योगी व्यवसायीहरूको माग सम्बोधन नगरे सबै व्यवसायको तालाचावी सरकारलाई बुझाउने संयोजक कटवालले बताए ।

संयुक्त आन्दोलनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, ग्रिल तथा स्टिल व्यवसायी महासंघ, कपडा तथा सिलाई व्यवसायी महासंघ, होटल व्यवसायी महासंघ, मोबाइल व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघले साथ दिएको छ भने महासंघमा आवद्ध ३८ वटा संघहरूले पनि आन्दोलनमा सहभागिता जनाउने छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

गण्डकीमा घट्दै बर्खे धान खेती