दृष्टिविहीन क्रिकेट प्रतियोगितामा मधेस प्रदेश विजयी

शनिबार, माघ २८, २०७९

पोखरीया– प्रदेशस्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगितामा मधेस प्रदेशको मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घ विजयी भएको छ ।

वीरगञ्जको नारायणी रङ्गशालाको क्रिकेट मैदानमा आयोजित प्रतियोगिताको आज भएको फाइनल खेलमा गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै मधेस प्रदेश विजयी भएको हो । 

प्रतियोगिताको म्यान अफ दी म्याच मधेस प्रदेशकी उजेली चौधरी र म्यान अफ द सिरिज मधेस प्रदेशका नवीन तामाङ घोषित भएका छन् ।

आजको फाइनल प्रतियोगितामा ७८ रनको लक्ष्य रहेकामा मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घले ९ दशमलव ४ ओभर खेल्दै मात्र १ विकेटको नोक्सानीमा पूरा गर्दै उपाधि जितेको हो । त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घले १८ दशमलव ३ ओभरमा अलआउट हुँदै ७७ रन मात्र बनाएको थियो ।

उपाधिसँगै मधेस प्रदेशको मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घले नगद ३० हजार रुपैयाँ, मेडल र ट्रफी हात पारेको छ भने उपविजेता गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घले भने नगद १५ हजार  रुपैया, ट्रफी र मेडल प्राप्त गरेको हो । 

दृष्टिविहीन खेलाडीको आत्मबल तथा आत्मविश्वास बढाउनुका साथै उनीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना प्रतियोगितामा चारवटै प्रदेशका गरी १६ महिलासहित ६० जना दृष्टिविहीन खेलाडीले भाग लिएका थिए । 

नेपाल नेत्रहीन क्रिकेट सङ्घ र मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घको संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको प्रतियोगितामा चार प्रदेशका टिमले भाग लिएका थिए । 

प्रतियोगितामा सात वटै प्रदेशलाई आमन्त्रण गरिए पनि प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश गरी चार प्रदेशले मात्र भाग लिएको नेपाल नेत्रहीन क्रिकेट सङ्घका कार्यक्रम संयोजक महेश साहले जानकारी दिए ।
 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  २१:५२
प्रतिक्रिया दिनुहोस्