अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा भारत विजयी

शनिबार, माघ २८, २०७९

काठमाडौँ –स्पिनरद्वय रविचन्द्रन आश्विन र रविन्द्र जडेजाको सानदार बलिङ सहयोगमा भारतले अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा एक इनिङ्स र १३२ रनको जितसहित शृंखलामा अग्रता बनाएको छ । ४ टेष्टको शृंखलाका लागि अस्ट्रेलियन टिम भारत भ्रमणमा छ ।
नागपुरमा २२३ रनले पछि परेको स्थितिमा दोस्रो इनिङ्स सुरु गरेको अस्ट्रेलिया ९१ रनमा समेटिएपछि भारतले इनिङ्स जित निकालेको हो । भारतले तेस्रो दिनमै जित हासिल गरेको हो ।
कप्तान रोहित शर्माको शतकीय प्रदर्शनसँगै पहिलो इनिङ्समा ४०० रन बनाएर भारतले २२३ रनको अग्रता बनाएको थियो । टेष्ट क्रिकेटमा आठौं शतक बनाएका रोहितले १२० रनको योगदान गरे । मध्यक्रममा रविन्द्र जडेजाले ७० तथा अक्सर पटेलले ८४ रन जोडे । बलिङमा अस्ट्रेलियाका अफ स्पिनर टड मर्फीले ७ विकेट लिए । प्याट कुमिन्सले २ तथा नाथान ल्योनले १ विकेट लिए ।
दोस्रो इनिङ्समा अस्ट्रेलियालाई ९१ रनमै समेट्न भारतका रविचन्द्रन आश्विनले ५ विकेट लिए । मोहम्मद सामी र रविन्द्र जडेजाले २–२ तथा अक्सर पटेलले १ विकेट लिए । अस्ट्रेलियाका स्मिथले सर्वाधिक अविजित २५ रन बनाए । दोस्रो टेष्ट आगामी शुक्रबारदेखि सुरु हुँदैछ ।
 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्