अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला चाल्नुपर्ने बेला भयो : राष्ट्रपति भण्डारी

शुक्रबार, माघ २७, २०७९

काठमाडौँ –राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर हुन आवश्यक रहेको बताएकी छन् । 

शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले बैंकको ब्याजदर वृद्धिबाट उत्पन्न समस्या हल गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिइन् ।

आर्थिक अवस्था जटिल मोडमा रहेको तर पछिल्ला दिनमा अर्थतन्त्रका सूचकहरूमा सुधारको संकेत देखिए पनि त्यसको दिगोपनामा आश्वस्त भइहाल्ने अवस्था नरहेको भण्डारीले बताइन् ।

उनले भनिन्, ‘वित्त नीति र मौद्रिक नीतिको सामाञ्जस्यपूर्ण कार्यान्वयनबाट मात्रै आर्थिक सुधार हुन्छ । तरलता अभावमा ब्याजदर बढेकाले उद्योगी मात्रै होइन, आमजनतालाई समेत असर पारेको छ ।’

देशको आर्थिक अवस्था सुदृढ बनाउन दीर्घकालीन समस्याको समाधान खोज्नु जरुरी रहेको उनले बताइन् । पर्याप्त स्रोतको अभाव, कमजोर आर्थिक वृद्धिदर, बढ्दो मुद्रास्फिति र आर्थिक घाटाका विषयमा गम्भीर बन्नुपर्ने उनले संसदमा बताएकी छन् ।

‘अर्थतन्त्रको समस्या आफ्नै कारणले मात्रै हुँदैन । कोरोना र डेंगु महामारीले पनि समस्या सिर्जना गरेका हुन् तर यिनलाई देखाएर पन्छिने छुट छैन,’ उनले भनिन् । 

नेपालको विकास आयोजना कार्यान्वयनको गति सुस्त रहेको उनले बताइन् । त्यसका लागि सरकारले तत्कालै कानुन बनाई हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको राष्ट्रपतिले सुझाव दिइन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्