नेभिगेशन
समाचार

३० दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार

काठमाडौँ– सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ । एमाले नेता राजेन्द्र सिंह रावलको नेतृत्वको सरकार गठन भएको ३० दिनमा पनि विश्वासको मत दिन नसकेपछि सरकार ढलेको हो ।

नागरिक उन्मुक्ति पार्टीको अडानका कारण संविधानद्वारा निर्धारित समयभित्र विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव नै अस्वीकृत भएपछि सुदूरपश्चिममा मुख्यमन्त्री रावल पदमुक्त भएका हुन् । एमाले नेतृत्वको सरकारका लागि बिहीबारसम्म विश्वासको मत लिने समय थियो ।

नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान छ । उक्त प्रावधान अनुसार विश्वासको मत लिने अन्तिम दिन प्रदेश सभामा मुख्यमन्त्री रावलले राखेको विश्वासको मत प्राप्त गर्ने प्रस्ताव नै अस्वीकृत भयो । जेलभित्र रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित अन्यको जेलमुक्तिको शर्त पुरा गर्न सत्तागठबन्धनले नसकेपछि सरकार नै ढलेको हो । विश्वासको मत नपाएका कारण प्रदेश सरकार ढलेको यो पहिलो घटना हो ।

एमाले, माओवादी, नाउपा र राप्रपाको समर्थनबाट २७ पुसमा रावल मुख्यमन्त्री नियुक्त भएका थिए । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन् । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएको कारण सरकारलाई बहुमतका लागि आवश्यक २७ मत पुगेन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार