अर्थमन्त्री पौडेल र युएसएआईडीका प्रमुख सामन्थाबीच भेटवार्ता

बुधबार, माघ २५, २०७९

काठमाडौँ–अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)का प्रशासक सामन्था पावरले भेटवार्ता गरेकी छन् । 

अर्थ मन्त्रालयमा आज सम्पन्न भेटमा उनीहरुका बीचमा नेपाल–अमेरिका बीचको द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।  

भेटमा अर्थमन्त्री पौडेलले  सन् १९५१ मा नेपालले ‘प्वाइन्ट फोर प्रोग्रम’मा हस्ताक्षर गरेपछि पहिलो पटक वैदेशिक सहायता प्राप्त गरेको बताए । नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सधैँ सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीति सकारात्मक रहेको अर्थमन्त्री पौडेलले सो अवसरमा व्यक्त गरेका थिए ।

नेपालले सन् २०२२ को मे महिनामा युएसएआईडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी पाँच वर्षमा कूल ६५ करोड ९० लाख अमेरिकी बराबरको अनुदान सहायता नेपालको बजेट प्रणालीमार्फत उपयोग गरिने उनको भनाइ छ ।

सो अवसरमा प्रशासक  पावरले अमेरिकासँग नेपालमात्र सरकार–सरकार (जी–टु–जी) तवरबाट सहायता प्राप्त गर्ने मुलुक रहेको जनाउँनुहुँदै द्विपक्षीय सहयोग र सहकार्य जारी रहने बताए ।

यसअघि सामन्था पावरले ५ करोड ८५ लाख अमेरिकी डलर सहायता घोषणा गर्नुभएको थियो । नेपाल भ्रमणका क्रममा उहाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री डा. विमला राई पौडेलसंग पनि भेटवार्ता गरेकी थिइन् ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  २०:२६
प्रतिक्रिया दिनुहोस्