एमडिएमएस अविलम्ब लागू गर्न माग

बुधबार, माघ २५, २०७९

काठमाडौँ– नेपाल मोबाइल वितरक संघले मोबाइल डिभाइस म्यानजमेन्ट सिस्टम (एमडिएमएस) छिटोभन्दा छिटो लागू गर्न माग गरेको छ ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले एमडिएमएस रोकिँदा अवैध फोन कारोबार गर्नेलाई फाइदा पुगेकोे भन्दै छिटोभन्दा छिटो लागू गर्न माग गरेको हो । 

यसअघि पुस १५ गतेदेखि लागू हुने भनिएको एमडिएमएस अन्तिम समयमा आएर रोकिएको थियो ।

संघका अध्यक्ष दिनेश चुल्याद्योलेले एमडिएमएस प्रणाली नेपालमा भित्रिने मोबाइलको तथ्याङ्क राख्ने तथा नियमन गर्ने प्रणाली भएको र अहिले प्रणालीमा समस्या नभई कर व्यवस्थापनमा समस्या देखिएको बताए ।

एमडिएमएस लागू नहुँदा वार्षिक १४ अर्ब बराबरका फोनहरू अवैध रूपमा भन्सार नतिरी भित्रिने उनले दाबी गरे । 

त्यस्तै, अहिले कर तिरेर कारोबार गर्ने व्यवसायीहरूको मोबाइल बिक्री वितरणमा कमी आएको उनको भनाइ छ । 

एमडिएमएस लागू भएमा वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा गएका नेपाली नागरिकले ल्याउने वा पठाउने फोनमा समस्या आउने कुरा भ्रमपूर्ण रहेको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक अच्युतानन्द मिश्रले एमडिएमएसलाई पूर्ण रूपमा लागू गर्न गृहकार्य नपुगेकाले तत्कालका लागि स्थगित गरिएको बताए ।

उनले एमडिएमएसको परीक्षणकालमा व्यक्तिगत भन्दा पनि अवैध बजारबाट भित्रिएका मोबाइलको दर्ता भएको देखिएको बताए ।

गत पुस १५ गतेदेखि दूरसञ्चार प्राधिकरणले एमडिएमएस कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । तर, विदेशबाट एकभन्दा बढी मोबाइल ल्याउन नपाइने नियमसँगै चौतर्फी विरोधपछि प्रधानमन्त्रीले एमडिएमएस रोक्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्