नेभिगेशन
समाज विविध

अबको ३० वर्षमा नेपाल बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले अबको ३० वर्ष (विसं.२१११) सालसम्ममा नेपाल बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान गरेको छ ।

राष्ट्रिय जनगणना २०७८ को विषयगत प्रतिवेदनहरू सार्वजनिक गर्ने क्रममा आज (सोमबार) नेपालमा बुढ्यौली अवस्थाबारेको प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले यस्तो अनुमान सार्वजनिक गरेको हो ।

प्रतिवेदन अनुसार २०७८ सालसम्ममा नेपालमा ६० वर्ष वा त्योभन्दा माथिको संख्या कुल जनसंख्याको १० दशमलव २ प्रतिशत पुगेको छ । यो संख्या २०६८ सालमा ८ दशमलव १ प्रतिशत थियो । २०४८ सालको जनगणनाको भन्दा २०७८ सालमा ज्येष्ठ नागरिकको संख्या ३ गुणा बढेको छ । जनसंख्या पिरामिडले युवाबहुल अवस्थाबाट वृद्धावस्थामा परिवर्तन हुँदै गएको देखाएको राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेले जानकारी दिए ।

जन्मदरमा कमी आउँदा बालबालिकाको संख्या घट्दै गएको छ । यस्तै प्रवासनका कारण काम गर्ने उमेर समूहको जनसंख्या पनि घटिरहेको प्रतिवेदनमा उल्लेख छ । भौगोलिक रूपमा हेर्दा पहाडी क्षेत्रको बुढ्यौली जनसंख्या उल्लेखनीय वृद्धि भएको छ । २०६८ सालमा पहाडमा २५ दशमलव ७ प्रतिशत बुढ्यौली जनसंख्या रहेकोमा २०७८ सालमा ४३ दशमलव ६ प्रतिशत पुगेको छ। ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा बुढ्यौली जनसंख्या अनुपात कम छ । प्रतिवेदन अनुसार ६० वर्षसम्म बाँच्ने मानिसको सङ्ख्या कुल जनसंख्याको ८० प्रतिशत पुगेको छ । जसमा महिलाको ८४ दशमलव ७ प्रतिशत र पुरुषको ७५ दशमलव १ प्रतिशत छ ।

बुढ्याली जनसंख्या बढेसँगै एकल वा श्रीमान–श्रीमती मात्रै बस्ने संख्या पनि बढ्दो क्रममा रहेको प्रतिवेदनमा भनिएको छ । बुढ्यौली जनसंख्या बढ्दा आवास व्यवस्था, स्वास्थ्य हेरचाह, सामाजिक सुरक्षा र आर्थिक भरणपोषणमा विशेष चुनौती सिर्जना हुने कार्यालयको प्रतिवेदनमा भनिएको छ ।

नेपालमा बोलिने भाषाहरू
देशको भाषिक संरचनालाई चित्रित गर्न जनगणना २०७८ मा तीन वटा प्रश्नहरू सोधिएका थिए । जसमा मातृभाषा, दोस्रो भाषा र पुर्खाहरूको भाषा पर्दछन् । जनगणनाबाट प्राप्त नतिजामा १२४ वटा मातृभाषा, ११७ वटा दोस्रो भाषा र १२४ वटा पुर्खाको भाषा पहिचान गरिएको छ। नेपालमा बोलिने भाषाहरू मुख्य रूपमा चार प्रमुख भाषा परिवारअन्तर्गत पर्छन्ः इण्डो–युरोपेली (भारोपेली), सिनो–तिब्बती, अस्ट्रो–एसियाटिक र द्रविड भाषा। साथै, एक अलग भाषा कुसुन्डा र इन्डो–पाकिस्तानी साङ्केतिक भाषा परिवारअन्तर्गत पर्ने साङ्केतिक भाषा पनि नेपालमा प्रचलनमा रहेको पाइएको छ ।

नेपालमा मुख्य रूपमा सिनो–तिब्बती र इन्डो–युरोपेली (भारोपेली) भाषा परिवारका भाषाहरू बोलिन्छन्। जसले कुल जनसङ्ख्याको ९९.७ प्रतिशत ओगट्छ। मातृभाषाका रूपमा बोलिने भाषाहरूमा नेपाली सबैभन्दा ठूलो भाषा हो । निर्देशक आचार्यकाअनुसार यसको जनसांख्यिक अनुपात कुल जनसङ्ख्याको आधाभन्दा कम (४४.९ प्रतिशत) मात्र छ । अन्य भाषा परिवारका भाषाहरूको हिस्सा तुलनात्मक रूपमा ठूलो छैन।

कम्तीमा १ लाख वक्ता भएका भाषा नेपालमा कुल २१ वटा छन् । यी भाषाले कुल जनसङ्ख्याको ९५ प्रतिशत अंश ओगटेका छन् । यसको विपरीत, बोल्ने व्यक्तिहरूको सङ्ख्याका आधारमा सूचीको तल्लो खण्डमा रहेका भाषाको संख्या १ सय ३ वटा छन् जसले कुल जनसङ्ख्याको करिव ५ प्रतिशत हिस्सा ओगटेका छन्। त्यसैले, मातृभाषाहरूको संख्यामा विविधता भए पनि तिनको जनसांख्यिक हिस्सा असमान रूपमा वितरित देखिन्छ ।

आचार्यकाअनुसार सबैभन्दा सम्पन्न जनसंख्याको नेपाली बोल्ने सम्भावना तीन गुणाभन्दा बढी छ । निरक्षर जनसङ्ख्यासँग तुलना गर्दा, निश्चित हदसम्मको शैक्षिकस्तर भएका सबै वर्गको जनसंख्याले नेपालीलाई मातृभाषाका रूपमा बोल्ने सम्भावना धेरै नै छ । जनगणनाको तथ्याङ्कले शैक्षिकस्तर उच्च हुँदै जाँदा मातृभाषाका रूपमा नेपाली बोल्ने सम्भावना पनि बढोत्तरी हुँदै जाने देखाएको निर्देशक आचार्यले बताए ।

मृत्युको स्थिति सबैभन्दा धेरै कोसी प्रदेशमा
राष्ट्रिय २०७८ को जनगणनाअनुसार नेपालमा मृत्युको स्थिति सबैभन्दा धेरै कोशी प्रदेशमा रहेको देखिएको छ। सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले पत्रकार सम्मेलनमार्फत नेपालको मृत्युस्थितिबारे जानकारी गराएको हो । जसमा नेपालका सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेश र सबैभन्दा न्यून कर्णाली प्रदेशमा रहेको छ। कुल गैरसंस्थागत परिवार (६६ लाख ६० हजार ८ सय ४१) मध्ये कोशी प्रदेशमा मृत्यु स्थिति ३.१ प्रतिशत रहेको छ भने कर्णालीमा २.२ प्रतिशत रहेको छ । जिल्लास्तरको तथ्यांक तुलना गर्दा सर्वाधिक ३.८ प्रतिशत कपिलवस्तु र सबैभन्दा न्युनतम रुकुम–पश्चिममा १.८ प्रतिशत रहेको तथ्यांक कार्यालयले जनाएको छ। कुल गैरसंस्थागत परिवार (६६ लाख ६० हजार ८ सय ४१) मध्ये २.९ प्रतिशत परिवारमा मात्र कुनै सदस्यको मृत्यु भएको पाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार कुल १ लाख ९२ हजार १ सय ७८ परिवारमध्येबाट गणनाको दिनभन्दा ठिक अगाडिको १२ महिनाको समयावधिभित्र कुल १ लाख ९८ हजार ४ सय ६३ जनाको मृत्यु भएको छ। यसमा १ लाख १४ हजार ९ सय ९६ (५८प्रतिशत) पुरुवा र ८३ हजार ५ सय १७ (४२ प्रतिशत) महिला रहेका छन्। परिवारमा कुनै सदस्यको मृत्यु भएका परिवारमध्ये ९७ प्रतिशत परिवारमा १ जना मात्र सदस्यको मृत्यु भएको थियो भने बाँकी ३ प्रतिशत परिवारमा २ जनाको मृत्यु भएको देखिएको तथ्यांक कार्यालयले जनाएको छ । सीमित परिवारमा सो अवधिमा ६ जनासम्म सदस्यको मृत्यु भएको देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

फेवातालमा फसेका ८ जनाको उद्धार