राष्ट्रियसभा उपनिर्वाचनको मतदान सम्पन्न

बुधबार, माघ २५, २०७९

दाङ –राष्ट्रियसभा उपनिर्वाचनको मतदान सकिएको छ । दिउँसो ३ बजेसम्म भएको मतदानमा ३०४ मत खसेको छ ।

घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा भएको मतदानमा प्रदेशसभाका ८७ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी २१७ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार मतदानको मतगणना सुरु भएको छ ।

उनका अनुसार स्थानीय तहअन्तर्गत रूपन्देहीको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह स्वास्थ्य उपचार गर्न भारत गएकाले मतदान गर्न उपस्थित भइनन् ।

लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य तथा स्थानीय तह प्रमुख÷उपप्रमुख गरेर ३०५ जना मतदाता थिए । 

उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दसौँदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट गजेन्द्रवीर राय उम्मेदवार छन् । निर्वाचनको मतगणना कर्मचारी मिलन केन्द्रकै हलमा सुरक्षा व्यवस्थासहित भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार