अन्योलमा सुदूरपश्चिमका मुख्यमन्त्रीको ‘विश्वासको मत’

बुधबार, माघ २५, २०७९

कैलाली–सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले  विश्वासको मत लिन नपाउँदै प्रदेशसभाको बैठक स्थगित भएपछि अन्योल सृजना भएको छ ।

बुधबार १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची थियो । तर रावलले विश्वासको मत लिनुअघि नै प्रदेशसभा बैठक स्थगित भएको हो ।

बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

सत्ता गठबन्धनमा निर्णायक शक्तिको रूपमा देखिएको नागरिक उन्मुक्ति पार्टी बैठकमा सहभागी नभएपछि मुख्यमन्त्रीको विश्वासको मतबारे अन्योल भएको छ ।

नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने  वा नदिनेबारे टुंगो लगाउन सकेको छैन । सोही विषयमा छलफल गर्न पार्टीका सांसद तथा शीर्ष नेताहरू आफ्ना नेता रेशम चौधरीलाई भेट्न काठमाडौंमा छन् । उनीहरू फर्किएपछि बिहीबार प्रदेशसभामा मुख्यमन्त्री रावलले विश्वासको मत लिने जनाइएको छ ।

उन्मुक्तिले जेलमा रहेको पार्टीका संरक्षक रेशमलाल चौधरीको रिहाई नभए मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने भन्दै आएको छ ।

६३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमतका लागि २७ मत आवश्यक पर्छ ।

नेकपा एमाले संसदीय दलका नेता रावललले २६ पुसमा मुख्यमन्त्री बनेका थिए ।

उनलाई नेकपा एमालेका १० सांसद, माओवादी केन्द्रका ११ सांसद, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना गरी २९ सांसदको बहुमतमा सपथ लिएका थिए । 

विश्वासको मत लिन नसकेकै कारण अहिलेसम्म प्रदेश सरकार विस्तार हुन सकेको छैन । रावलको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन । बिनाविभागीय मन्त्री खगराज भट्ट र सन्तोषी थापा शर्माको मन्त्रालय पनि तोकिएको छैन । 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्