Nic Ad Nic Ad
Nic Ad Nic Ad

विपद्को जोखिममा रहेका बस्तीको नक्सांकन

बुधबार, माघ २५, २०७९

नेपालगन्ज- बाँकेमा भूकम्पलगायत प्राकृतिक विपद्को जोखिममा रहेका बस्तीको भौगोलिक सूचना प्रणाली (जिपिएस) मार्फत नक्सांकन गरिएको छ । नेपालगन्ज उपमहानगर-३ र ७ का बस्तीको जिपिएस विधिबाट नक्सांकन गरिएको नेपाल रेडक्रस सोसाइटी बाँकेको आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए।

उनका अनुसार, युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन वुमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोग र सिडिएमको सहभागितामा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाअन्तर्गत भूकम्प, बाढी, आगलागीलगायत विपद्बाट जोखिमयुक्त बस्तीको नक्सांकन गरिएको हो ।

नेपाल रेडक्रसका बाँके जिल्ला शाखाका सभापति गोवर्द्धनसिंह सम्झनाले विपद्सँग जुध्न पूर्वतयारीका लागि जोखिमयुक्त बस्तीहरूको सूक्ष्म तरिकाले अध्ययन गरेर नक्सांकन भएको बताए ।

'कुन बस्ती के कारणले जोखिममा छ ? कुन सुरक्षित छ ? कहाँ घना बस्ती छ ? कहाँ साँघुरो गल्ली भएकाले दमकल र एम्बुलेन्स जान सक्दैन भन्नेबारे नक्सांकन भएकाले यसैको आधारमा विपद् व्यवस्थापन गरिनेछ,' उनले भने । 

नेपालगन्ज उपमहानगरपालिकाका  प्रशान्त विष्टले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि स्रोत नक्सांकन अति नै जरुरी रहेको जनाउँदै यसले विपद्सँग जुध्न सहज हुने बताए।

नक्सांकनलाई अन्तिम रूप दिएपछि नेपालगन्ज उपमहानगरपालिका, सरोकारवाला निकाय र संघसंस्थालाई हस्तान्तरण गरिने याेजना रहेको प्राविधिक अधिकृत नरेश निदालले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्