चैते धान लगाउनेको संख्या घट्दै

बुधबार, माघ २५, २०७९

दोधारा चाँदनी - कञ्चनपुरमा पछिल्लो समय चैते धानको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका अनुसार जिल्लामा ५० हेक्टरमा लगाउने लक्ष्य रहे पनि चैते धान लगाउने किसानको संख्या न्यून छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत सञ्जु उपाध्याय रिमालले अन्य धानभन्दा चैते धान बढी फल्ने भए पनि किसान यसतर्फ आकर्षित नभएको बताइन्।

कैलाली र कञ्चनपुर सुदूरपश्चिम प्रदेशको अन्न भण्डारका रुपमा रहे पनि पछिल्ला वर्षमा दुवै जिल्लामा चैते धान खेतीतर्फ किसानको आकर्षण घट्दै गएको पाइएको छ ।

'कञ्चनपुरमा ५० हेक्टरमा धान खेती गर्ने लक्ष्य लिए पनि त्यति खेती पुगाउन सकस छ, छाडा चौपाया र सिचाँइ अभावका कारण पनि खेती गर्नेको सङ्ख्या घटेको हो,' उनले भनिन् ।

चैते धानलाई सिँचाइ बढी चाहिने भएकाले सिँचाइ असुविधाका कारण किसान यसतर्फ आकर्षित नभएको उनले बताइन् । 

'चैते धान लगाउँदा धेरै फाइदा हुन्छ, तीन वटा बाली लगाउन मिल्छ अन्य बालीभन्दा बढी फल्छ, चैते धानलाई सिँचाइ बढी चाहिन्छ उत्पादकत्व पनि बढी छ,' उनले भनिन् ।

२ वर्षयता बर्खे धानबाली भित्र्याउन नपाउँदै बाढीले सखाप पार्न थालेपछि समस्यामा परेका बाढी प्रभावित क्षेत्रका किसान अहिले चैते धान खेती गर्न आकर्षित हुँदैछन् । 

'अहिले बेर्ना राख्ने समय भएको छ किसान बीउको लागि आउनेक्रम जारी छ, बेमौसमी वर्षाले धानमा नोक्सान हुन थालेपछि चैते धान लगाउने किसान आउन थालेका छन्,' उनले भने ।

कञ्चनपुरमा चैते धान उत्पादन कार्यक्रम लागूअनुसार ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध हुने भए पनि चैते धान खेतीतर्फ भने किसानको आकर्षण बढ्न सकेको छैन ।

बढी पानी जम्ने खल्ला, नहर क्षेत्र, तथा डुबान हुने क्षेत्रमा चैते धान उत्पादन पनि बढी हुने र बर्खे बाली जोगाउन समस्या हुने भएकाले चैते धान खेती गरिन्छ । 

किसान भने सिँचाइ असुविधा मात्र नभई परम्परागत खेतीका कारण चैते धान लगाउन नसकिएको बताउँछन् । बेदकोट नगरपालिका–७ का खुसी रानाले चैते धान लगाउने समयमा गहुँ खेती हुने भएकाले चैते धान लगाउने किसान न्यून रहेको बताए। 

'हामीले गहुँखेती पनि गर्नेपर्छ बीउ राख्नका लागि पनि तरकारी खेती गरेकाले ठाउँ अभाव हुन्छ, उत्पादन बढी हुने भए पनि सिँचाइ बढी चाहिन्छ हाम्रो यहाँ सिँचाइ सुविधा छैन,' उनले भनिन् ।

सरकारले चैते धान खेती विस्तारका लागि थुप्रै लगानी गरे पनि यसको फाइदाबारे जानकारी नहुँदा यसप्रति किसानको आकर्षण नभएको हिरुलाल डगौराले बताए। 

'चैते धानको फाइदाबारे किसानलाई जानकारी छैन, राम्रो उत्पादन भएन भने किसान मार्कामा पर्छन यसको बीमाको सुविधा पनि सरकारले गर्दा राम्रो हुन्छ,' उनले भनिन् ।

उनले पर्याप्त सिँचाइ अभाव, समयमा मलखाद र बीउबिजन पाउन मुस्किल पर्ने भएकाले पनि किसान आकर्षित नभएको बताइन्।
 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ०७:३८
प्रतिक्रिया दिनुहोस्