अहिलेको आवश्यकता राष्ट्रिय सहमति : अध्यक्ष राउत

मंगलबार, माघ २४, २०७९

कलैया– जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद डा सिके राउतले अहिलेको आवश्यकता राष्ट्रिय सहमति भएको बताएका छन् ।

बाराको कलैयामा आज आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको खोजी भइरहेको बताए । उनले मधेस प्रदेशमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो बनाउने गरी काम गरिरहेको उल्लेख गरे । अन्य मधेस केन्द्रित दलले सत्ता र शक्तिका लागि मात्र राजनीति गरेको उनले आरोप लगाए । 

‘मधेसी जनताको भवनामाथि खेलवाड गर्ने काम मात्र हुँदै आएको छ, अब जनमत पार्टी मधेसी जनताको भावना अनुसार अगाडि बढ्छ’, उनले भने । 

सो अवसरमा अध्यक्ष राउतले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गर्नका लागि सङ्घीय र प्रदेश सरकारमा रहेका मन्त्रीहरुलाई निर्देशन दिए । सङ्घीयता कमजोर पार्ने खेल हुन थालेको उल्लेख गर्दै उनले त्यसतर्फ आफ्नो पार्टी सचेत रहेको बताए । 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामबाबु साह, सुनिल यादव, रौसन खातुन, गजानन्द यादव, सन्तोष पटेल, राजेश साहलगायतले आ–आफ्नो धारणा राखेका थिए । 

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेकालाई अध्यक्ष राउतले टिका लगाएर स्वागत गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  २१:०७
प्रतिक्रिया दिनुहोस्