राष्ट्र बैंकको रिपोर्टले हौसिए लगानीकर्ता, ६२ अंकले बढ्यो नेप्से

मंगलबार, माघ २४, २०७९

काठमाडौँ- बजारमा लगानीयोग्य रकम (तरलता) बढ्दै गएको र नेपाल राष्ट्र बैंकले पुस मसान्तसम्ममा अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको प्रतिवेदन सार्वजनिक गरेपछि सेयर बजारमा उत्साह देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २ बजेर ३३ मिनेट जाँदासम्म सेयर बजार मापक नेप्से परिसूचक ६१.७७ अंकले बढेर २१६२.४७ विन्दुमा पुगेको छ । आज परिसूचक २.९४ प्रतिशतले बढेको हो ।

nepse-10-231675760295.JPG

अहिले २१३ कम्पनीको स्क्रिप्टको मूल्य बढिरहेको छ भने २ वटा कम्पनीको सेयर मूल्य परिवर्तन भएको छैन । यस्तै एउटा कम्पनीको स्क्रिप्टको मूल्य घटेको छ ।

नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको वर्तमान आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनमा अधिकांश सूचक सकारात्मक रहेको उल्लेख गरिएको छ ।

यसअघि देशको शोधनान्तर स्थिति नोक्सानीमा रहेकाले सरकारले आयातमा कडाइ नै गरेको थियो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम (तरलता) पनि वृद्धि हुन थालेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ क्षेत्रमा औसत निक्षेप–कर्जा अनुपात (सिडी रेरियो) ८६.३४ प्रतिशत छ । अहिले बैंकिङ क्षेत्रमा ५३ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप छ भने ४८ खर्ब १५ अर्ब रुपैयाँ कर्जा तथा सापटी छ ।

यसरी हेर्दा अहिले बैंकिङ क्षेत्रमा करिब १५० अर्ब रुपैयाँ लगानीयोग्य रकम छ ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १४:४२
प्रतिक्रिया दिनुहोस्