राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची

सोमबार, माघ २३, २०७९

काठमाडौँ– संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

बिहान ११ः५९ बजे बस्ने बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने, उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाको उपाध्यक्ष पदमा सदस्य उर्मिला अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावमा देवेन्द्र दाहाल र खिमलाल देवकोटाले समर्थन गर्ने, राष्ट्रियसभा अध्यक्षले उर्मिला अर्याललाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधयान व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन मूल्यांकन विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । 

यस्तै प्रधानमन्त्रीले अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने छन् । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका छ ।

यसैगरी, सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७  पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुने छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि छलफल गरियोस् र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सूदन किराँतीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अभिलेख संरक्षण (पहिलो संशोधन)विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत, अभिलेख संरक्षण (पहिलो संशोधन)विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 
 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  ०९:५३
प्रतिक्रिया दिनुहोस्