कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

आइतबार, माघ २२, २०७९

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ ।

बर्दघाट नगरपालिका–४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिबार मिर्गौला प्रत्यारोपण गरिएको हो । 

कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा भएपश्चात् शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र अस्पताल निर्देशक डा डम्बर खड्का नेतृत्वको संयुक्त टोलीले प्रत्यारोपण कार्य सम्पन्न गरेको हो ।

थापालाई उनकी ४३ वर्षीया आमाले मिर्गौला दान गरेकी हुन् । प्रत्यारोपण कार्यमा काठमाडौँ उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक र कर्णालीमा पहिलो पटक निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा खड्काले जानकारी दिए । उनका अनुसार प्रदेश अस्पतालले अनुमति पाएको तीन महिनापछि सफल मिर्गौला प्रत्यारोपण भएको छ । 

शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा.श्रेष्ठ र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.खड्काले प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि विसं २०७८ चैत १० गते सम्झौता गरेका थिए । केन्द्रबाट डा.रविकिरण गौतम, डाक्टर हरि बराल, एनेस्थेसियोलोजिस्ट डा.सोभित थापा, रश्मित श्रेष्ठ, नेफ्रोलोजिस्ट डा.सुमित आचार्य, डा.दीपा लामिछाने र रेडियोलोजिस्ट डा.समीर दवाडी संलग्न थिए ।

त्यस्तै, सुर्खेत अस्पतालबाट डा पूजन बल्ल, डा जनी बज्राचार्य, फिजिसियन डा कुलराज शाही, ओटी इन्चार्ज प्रभा रावल तथा ओटी र आइसियुमा कार्यरत नर्स प्रयोगशालाका इन्चार्ज भरत देवकोटालगायत कर्मचारीहरूको टोली मिर्गौला प्रत्यारोपण कार्यमा संलग्न भएको थियो । 

प्रत्यारोपण सेवालाई नियमित सञ्चालन प्रदेश अस्पतालको आगामी योजना रहेको छ । यसका लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गर्न उच्चस्तरको तालिमका लागि केन्द्रमा पठाउने निर्देशक डा.डम्बर खड्काले जनाए ।

प्रत्यारोपण केन्द्रमा हालसम्म एक हजार ११ जनाको मिर्गौला र नौजनाको कलेजो प्रत्यारोपण गरिएको कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । 'अब कर्णालीका बिरामीले काठमाडौँ धाउनुपर्ने अवस्था आउँदैन र बिरामीले रु एक समेत खर्च गर्नुपर्दैन', उनले भने, 'यसको सेवा निरन्तर हुन्छ तर कुनै पनि हालतमा बन्द हुँदैन ।'

मिर्गौला प्रत्यारोपण निःशुल्क भएको र कुनै पनि शुल्क तिर्नु नपरेको मोतिबहादुरका बुबा तुलबहादुर थापाले बताए । 'म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएको थिएँ', उनले भने, 'सुर्खेतमै उपचार हुन्छ भनेपछि एक्लै यहाँ आउन साहस गरे । मिर्गौला प्रत्यारोपण कार्य पनि सोचेजस्तो भएको छ ।' अहिले छोराको स्वास्थ्य अवस्था सन्तोषजनक भएको थापाले बताए । 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  २१:४१
प्रतिक्रिया दिनुहोस्