सदनमा बोलेका कुराको सम्बोधन गर्न सांसदको माग

आइतबार, माघ २२, २०७९

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले सदनमा उठेका विषय र प्रतिबद्धताप्रति सरकार जवाफदेही बन्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सदनमा बोलका कुराले अर्थ र महत्व राख्छ भन्दै सरकारले यहाँ उठेका विषयलाई सम्बोधन गर्न के कस्ता पाइला चाल्यो भन्ने प्रश्न राखे । उनले भने, ‘लाखौँ मेट्रिक्टन मल आएको जानकारी दिए पनि किसानले पाइरहेको छैन । कालाबजारी र वितरण प्रणाली सुधारमा के काम भयो ? सदनमा हामी बोलि नै रहेका हुन्छौँ । सदनमा उठेको विषयको जवाफ र कारबाही भए नभएकाबारे जानकारी हुनुपर्छ ।’ उनले नागरिकता प्रदान गर्ने प्रतिबद्धताका विषयमा प्रश्न गरे । 

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले सदनमा राष्ट्रिय महत्वका विषयमा आवाज उठाउन सबै सदस्यका लागि निश्चित समय तोक्नपर्ने बताए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले नेपालको विद्युत् सस्तो मूल्यमा भारतलाई बेच्ने र महँगो मूल्यमा विद्युत् खरिद गर्ने परम्पराको अन्त्य गर्नुपर्ने सरकारको ध्यानाकर्षण गरे । उनले सूचना लुकाउनेमाथि कारबाही हुनुपर्ने बताए । 

नेपाली कांग्रेसका ईश्वरी न्यौपानेले नेपाली कांग्रेस नेतृत्वको सरकारले नागरिकलाई समयमै कोरोना विरुद्धको खोप लगाएको तथा समयमै निर्वाचन गराएर देशलाई पुरानो लयमा फर्काउन सफल भएको दाबी गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर शाहीले मुलुकमा व्यवस्था परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसकेको बताए । उनले किसानका समस्याप्रति ध्यानाकर्षण गराउँदै कृषिमा बिचौलियालाई नियन्त्रणमा लिन माग गरे । उनले किसानले कृषिजन्य उपजको मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न आग्रह गरे ।

जनता समाजवादी पार्टी नेपालका वीरेन्द्र महतोले किसानलाई समयमै मलखाद उपलब्ध गराउन माग गरे । उनले भने, ‘किसानले आफ्ना कृषि उपज सडकमा फाल्न बाध्य छन् । मल किन्न पाएका छैनन्, यो अवस्थाको अन्त्य हुनुप¥यो ।’ उनले नागरिकताको अधिकार कुण्ठित हुन नदिन तत्काल नागरिकता विधेयक पास गर्न माग गरे । 

नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरीले पूर्वप्रधानमन्त्री केपी ओलीको नेतृत्वको आर्थिक विकास उहाँले भनेजस्तो नभएको दाबी गरे । 

लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरीले वन मन्त्रालयअन्तर्गतको समितिको परियोजनाका कर्मचारीले तलब नपाएको बताए । उनले तराईका विभिन्न स्थानमा सुविधा सम्पन्न सहर बनाउन माग गरे । 

नेकपा (माओवादी केन्द्र)का छिरिङल्हामु लामा (तामाङ)ले फलफूल र जडिबुटी उत्पादनका हिसाबले महत्वपूर्ण रहेको जुम्लामा त्यसको बजार नभएका कारण किसानले भोग्दै आएका समस्या समाधान गर्न माग गरे । 

नेपाली कांग्रेसका पूर्णबहादुर तामाङले रामेछाप जिल्लाको उमाकुण्डमा लागेको डढेलोबाट लोपोउन्मुख वन्यजन्तु प्रभावित भएकाले समयमै डढेलो नियन्त्रण गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेसका नागिना यादवले रासायनिक मलको बढ्दो मागअनुसार आपूर्ति नहुँदा किसान मर्कामा परेको बताए । अवैध रुपमा भित्रिने मललाई नियन्त्रण गर्न उनले माग गरे ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्