सर्वाेच्चको फैसलाप्रति ओलीकाे प्रश्न : कसले न्याय पायाे ?

आइतबार, माघ २२, २०७९

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेकाे नागरिकता मुद्दामा सर्वाेच्च अदालतको फैसलाप्रति संसद्मा प्रश्न उठाएका छन् ।

निवर्तमान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विषयमा सर्वाेच्च अदालतको फैसलाप्रति ओलीले प्रश्न उठाएका हुन् ।

‘हामी अदालतलाई सम्मान गर्छाैं त्यसकारण त्यस त्यो निर्णय मान्छौं । तर, मेरो मनमा केही प्रश्न आए, उजुरकर्ता व्यक्तिलाई के मर्का पर्‍याे र उजुर गरे ?’ ओलीले प्रश्न गरे । उनले असम्बन्धित व्यक्तिले निवेदन गरेको देखिएको पनि बताए ।

सर्वाेच्चको फैसलाबाट कसैलाई पनि न्याय नभएको उनको टिप्पणी छ । ‘अदालतको काम त न्याय दिने हो, यो फैसलाबाट कसले न्याय पायो ? कसले मर्काबाट उन्मुक्ति पायो, मैले बुझिनँ,’ ओलीले भने ।

उनले लामिछानेमाथि राज्यबाट प्रहार भएको आशय व्यक्त गरे ।

‘एउटा नागरिक राज्यको प्रहारको विषय हुन सक्दैन । संविधान र कानुनको उल्लंघन गर्‍याे, त्यसबाट कही कति क्षति पुग्न गयो भने व्यक्तिलाई पनि रोक्नुपर्छ नत्र राज्यले व्यक्तिको संरक्षण गर्नुपर्छ,’ अध्यक्ष ओलीले भने ।

सर्वाेच्च अदालतले लामिछानेले नागरिकता पुनर्प्राप्तिका लागि प्रक्रियागत त्रुटि मात्रै गरेको बताए पनि उनीमाथि गम्भीर असर परेको ओलीको भनाइ छ ।

‘सम्मानित अदालतको फैसलाले प्रक्रियागत त्रुटि मात्रै भन्छ, रवि लामिछाने ढोका खुला रहेछ भनेर फुत्त भित्र छिरेको होइन । निर्वाचन आयोगले उजुरी परेपछि छानबिन गरेको, सही रहेछ भनेको, सार्वभौमसत्ता सम्पन्न जनताले अत्यधिक मतले छानेको, यतिमा सांसद पद गयो, पार्टी अध्यक्ष पद गयो, उपप्रधानमन्त्री पद गयो,’ ओलीले भने ।

उनले न्याय कसलाई भयो भनेर पटकपटक प्रश्न गरे ।

‘रवि लामिछानेको पद गयो, न्याय कसलाई भयो ? बुझिनसक्नु जस्तो लाग्यो मलाई, कानुनी सिद्धान्त के हो ?’ उनले भने ।

आफूहरूले सर्वाेच्च अदालतको फैसला मान्ने पनि उनले बताए । रवि लामिछानेसँग आफ्नो र पार्टीको कुनै सम्बन्ध नभएको पनि उनले बताए ।

‘शुक्रबार बेलुकादेखि आइतबार बिहानसम्म नागरिकता के भयो ? पुरानै मितिको पुरानै नागरिकता जारी छ, शुक्रबार पनि कार्यालय बन्द भएपछि फैसला आयो, आइतबार कार्यालय खुलेकै दिन नागरिकता कायमै छ, प्रक्रियागत त्रुटि मात्रै देखिन्छ,’ सर्वाेच्चको फैसलाबारे ओलीले भने ।

लामिछानेको विषयमा सर्वाेच्चको फैसलापछि समस्या उत्पन्न हुन सक्ने उनले संकेत गरे ।

‘विदेशमा रहेका नेपालीलाई हामी मतदानको अधिकारको कुरा गरिरहेका छौँ, मतदानको कुरा गरिरहेका छौँ भने उम्मेदवार हुने अधिकार पनि होला । भिसा, पासपोर्ट के-केको छानबिन गर्छाैँ हामी ? रवि लामिछानेको विषयपछि गैरआवासीय नेपालीको विषयमा के असर पार्ला ? उनीहरूको सम्पत्तिका विषयमा कस्तो असर पर्ला ?’ ओलीले भने ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्