कसरी गुमाए गौतम अडानीले १० दिनमा १०० अर्ब डलर सम्पत्ति ?

शनिबार, माघ २१, २०७९

काठमाडौँ– गत भदौ अन्तिम सातादेखि अन्तराष्ट्रिय संचार माध्यमको केन्द्रमा परेका थिए भारतीय धनाढ्य गौतम अडानी । गत भदौ ३१ गते अडानीको सम्पत्ति १५४.७ बिलियन अमेरिकी डलर पुगेको थियो ।

सम्पत्ति बढेपछि अडानी विश्वको दोस्रो धनाढ्य भए । संसारकै सबैभन्दा धनी व्यक्ति एलन मस्क नै थिए । उनीसँग २७३.५ बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ ।

विश्वमा धनीहरुको सुची सार्वजनिक गर्ने फोब्र्स पत्रिका अनुसार अडानी त्यसको अघिल्लो महिना अर्थात साउन महिनातिर विश्वभरको धनीहरुमा तेस्रो स्थानमा थिए । अमेजोनका मालिक जेफ बेजोस र टेस्लाका मालिक एलन मस्क अडानीभन्दा धनी थिए ।

पछिल्लो ५ वर्षमा अडानी ग्रुपले एयरपोर्ट, सिमेन्ट, डाटा सेन्टर, ग्रिन हाइड्रोजन, पेट्रो केमिकल रिफाइनिङ, सडक तथा सोलर ब्याट्री उत्पादन लगायतका क्षेत्रमा आक्रामक रुपमा लगानी विस्तार गरेको थियो ।

व्यवसायिक यात्रा नै हिराबाट

भारतको गुजरातमा जन्मिएका गौतम अडानीका बुबा शान्तिलाल टेक्स्टायलको सानोतिनो व्यावसाय गर्ने गर्थे । गौतमले व्यवसायिक सुरुआति फर्मुला बुबाको त्यही व्यवसायबाट सिकेका थिए ।

उनले ब्याचलर्सभन्दा अगाडिको अध्ययन अहमदावादमा गरे । त्यसपछि व्यवस्थापनमा ब्याचलर्स गर्न गुजरात विश्वविद्यालयमा भर्ना भए । तर, विश्वविद्यालयमा उनको पढाइ अपेक्षाकृत राम्रो भएन । उनले ब्याचलर्सको दोस्रो वर्षदेखि नै पढाइलाई निरन्तरता दिएनन् ।

अध्ययन छोडेर अडानी व्यवसायतिर लागे । उनी मुम्बई आए । त्यहाँ हिरा छान्ने काम गर्न लागे । यो काम गर्दा उनले व्यवसाय कसरी हुन्छ, के कस्ता कुराले व्यवसायमा के कस्तो असर पार्छ भन्ने जस्ता व्यवहारिक ज्ञान हासिल गरे । उनी थप परिस्कृत र व्यवसायिक बन्दै गए ।

गौतमका दाजु महासुकभाइ पनि मुम्बइमै बसेर सानोतिनो व्यवसाय गर्थे । सन् १९७८ मा मुम्बई आएका गौतमले सन् १९८१ देखि दाजु महासुकभाइ अडानीको प्यास्टिकको व्यावसायमा काम गर्न थाले । महासुकभाइले प्लास्टिक र्‍यापिङ कम्पनीको सुरुवात गरेका थिए ।

गौतमलाई व्यावसायको सञ्चालन गर्ने जिम्मेवारी तोकियो । उनकै पहलमा दाइले सुरु गरेको कम्पनी विश्वव्यापी रुपमा पोलिभिनल क्लोराइड (पिभिसी) आयात गर्ने कम्पनी बनेर अडानीको व्यापारको ढोका खोल्ने कम्पनी बनेको थियो ।

अडानी बन्धुको यो कम्पनी सन् १९८५ मा शुरु भयो । त्यतिबेला विदेशबाट सानो मात्रामा पिभिसीका सामग्रीहरु ल्याउने गरिन्थ्यो । सन् १९८८ मा अडानीले अडानी एस्पोर्टस नामक कम्पनी स्थापना गरे । यो कम्पनी अहिले अडानी इन्टरप्राइजेज बनेको छ । सुरुमा अडानी एक्सपोर्टसले  कृषि र उर्जासँग सम्बन्धित क्षेत्रमा काम गथ्र्याे । अहिले यो कम्पनी अडानी ग्रुपको मुख्य कम्पनी हो ।

भारतले सन् १९९१ मा आर्थिक उदारिकरणको नीति लागू गर्यो । यो नीतिले अडानीको कम्पनीलाई फाइदा पुग्यो । अडानीले आफ्नो व्यावसाय पिभिसीमा मात्रै नभएर फलाम, टेक्सटाइल र कृषिजन्य सामग्रीको व्यापारमा बढाएका थिए । 

सन् १९९४ मा गुजरात सरकारले मुन्द्रा बन्दरगाहको व्यवस्थापन तथा सञ्चालनका लागि ठेक्का आह्वान गरेको थियो । यो ठेक्का अडानीकै कम्पनीले पायो । मुन्द्रा बन्दरगाह भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको बन्दरगाह हो, जहाँ वार्षिक २१० मिलियन टनभन्दा बढी कार्गाे व्यवस्थापन हुने गरेको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

adani storm rss1675513986.jpg

एक कलाकारले भारतीय व्यापारी गौतम अडानीको एक चित्रको अन्तिम टच दिदै । फोटो: एपी फोटो/रजनीश काकडे

सत्ता दाहिना

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) सँगको निकटता नै गौतम अडानीको सफलताको कारण हो भन्ने गरिन्छ । यद्यपि, सन् २०११ मा नै फर्चुन इण्डिया म्यागजिनले अडानीलाई दोस्रो धिरुभाइ अम्बानीको रुपमा उदाउने व्यवसायी भने घोषणा गरेको थियो । धिरुभाइ भारतमा व्यावसायिक परिदृश्यको सिर्जना गर्ने अग्रणी थिए । धिरुभाइकै पुस्ताबाट अहिलेको अम्बानी ग्रुपको सुरुआत भएको थियो । 

सन् २०१४ मा गौतम अडानीले आफ्नै जहाजमा राखेर नरेन्द्र मोदीलाई गुजारतबाट दिल्ली लगेका थिए । त्यसपछि मोदी निरन्तर भारतको प्रधानमन्त्री रहदै आएका छन् । अडानीले सन् २०२२ मा मात्रै आफ्नो सम्पत्ती ६०.९ बिलियन बढाएको टाइम्स अफ इण्डियाको एक रिपोर्टमा उल्लेख गरिएको छ ।

सन् १९८८मा पहिलो कम्पनीको रुपमा अडानी इन्टरप्राइजेज स्थापना भएको थियो । त्यसपछि सन् १९९४ मा कार्गाे व्यवसाय संहाल्न उनले एउटा बन्दरगाह स्थापना गर्ने अनुमति पाएका थिए । सन् १९९७ मा उनलाई अपहरण गरिएको थियो । सन् २००७ मा मुन्द्रा बन्दरगाह र स्पेसल इकोनोमिक जोनले भारतमा पनि कारोबार सुरु गरेको थियो ।

यस्तै, सन् २००८ मा मुम्बईको ताज होटलमा भएको आतंककारी हमलामा अडानी बल्लबल्ल बचेका थिए । सन् २००९ मा अडानीले भारत पावर नामक कम्पनीको सुरुवात गरेका थिए, भने अहिले अडानी एयरपोर्टस नामक भगिनी कम्पनी पनि छ ।

नयाँ उर्जाको क्षेत्रमा काम गर्ने कम्पनी अडानी ग्रिन इनर्जीले २१ सेप्टेम्बर २०१६ मा भारतलाई सबैभन्दा ठूलो सोलार प्लान्ट बनाएको थियो । भारतको तमिलनाडुमा रहेको सो प्लान्टमा ६४८ मेगावाट विद्युत उत्पादन हुन्छ । सो सोलार प्लान्टमा अडानी समूहको ४ हजार ५५० करोड भारु लगानी छ । हरित उर्जा क्षेत्रमा अडानी समुहले ७० बिलियन अमेरिकी डलर लगानी गर्ने बताइएको थियो ।

हिडनबर्ग रिपोर्टले तनाव

अघिल्लो साता गौतम अडानीको सम्पत्ति करिब २२० अर्ब अमेरिकी डलर थियो । एक साताभित्रै उनको सो सम्पत्ति घटेर करिब आधा भएको छ । जनवरी २४ मा हिडनबर्ग रिपोर्ट सार्वजनिक भएपछि अडानीको सम्पत्ति यसरी घटेको हो ।

बिबिसीले उल्लेख गरेको एक रिपोर्ट अनुसार फेब्रुअरी ४ सम्म आइपुग्दा अडानी समुहको सबैभन्दा ठूलो कम्पनी अडानी इन्टरप्राइजेजको सेयर मूल्य गत बुधबार करिब २८ प्रतिशतले घटेको छ । यस्तै, बिहीबार २६ प्रतिशतले घटेको छ । 

यसरी लगातार मूल्य घटेपछि कम्पनीले २७ जनवरीबाट विक्री गर्न लागिएको २.५ अर्ब अमेरिकी डलर बराबरको थप सार्वजनिक निस्कासन (एफपीओ) बन्द भएको छ । 

एफपीओ विक्री गरेर आउने रकम कम्पनीको पुँजीको करिब आधा रकम हो । यो रकम अडानी इन्टरप्राइजेज र तथा उसका सहायक कम्पनीका परियोजनामा लगानी गर्ने भनिएको थियो । ग्रिन हाइड्रोजन इकोसिस्टम स्थापना गर्ने, हवाई अड्डा तथा सडक र हाइवे बनाउने कम्पनी कम्पनीमा लगानी गर्ने योजना अडानी समुहको थियो । 

 

२४ जनवरीपछिको क्यालेन्डर

२४ जनवरीमा हिडनबर्गको रिपोर्ट सार्वजनिक भएपछि अडानी समुहको व्यवसायिक साम्राज्यमा खलबली मच्चिएको छ । क्यालेन्डरका रुपमा हेर्दा २४ जनवरीदेखि ४ फेब्रुअरी (आज) सम्मको घटनाक्रमः

२४ जनवरी २०२३
हिडनबर्गले अडानी ग्रुपसँग सम्बन्धित एउटा रिपोर्ट सार्वजनिक गर्यो । सो रिपोर्टको नाम ‘अडानी ग्रुपः हाउ द वल्र्डस थर्ड रिचेस्ट म्यान इज पुलिङ द लार्जेष्ट कन इन कर्पाेरेट हिस्ट्री’ सार्वजनिक गर्यो ।
२६ जनवरी २०२३
गौतम अडानीले हिडनबर्गको रिपोर्टको अस्वीकार गरे । र, हिडनबर्ग विरुद्ध कानुनी कारबाहीको लागि सोचिरहेको जानकारी दिए ।
अडानको यस्तो प्रतिक्रिया आएपछि हिडनबर्गले आफ्नो प्रतिवेदनप्रति आफू विश्वस्त रहेको र अडानीले कानुनी कारबाही गरे आफूले स्वागत गर्ने बतायो ।
२७ जनवरी २०२३
अडानीले २.५ अर्ब अमेरिकी डलर बराबरको एफपीओ जारी गरे ।
३० जनवरी २०२३
सो दिनसम्म अडानी समुहको एफपीओ जम्मा ३ प्रतिशत मात्रै विक्री भयो । 
३१ जनवरी २०२३
यो दिन एफपीओ विक्री हुने समय थियो । सोही दिन गैरसंस्थागत लगानीकर्ताको तर्फबाट अर्बपति सज्जन जिन्दल र सुनिल मित्तललगायत केही अर्बपति व्यापारीले कम्पनीको ३.३१ करोड सेयर खरिद गर्ने बचन दिए ।
सोही दिन गौतम अडानी इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहूलाई भेट्न हाइफा बन्दरगाह पुगे । हिडनबर्ग रिपोर्ट सार्वजनिक भएपछि अडानी पहिलो पटक सार्वजनिक रुपमा देखिएका यो नै पहिलो पटक थियो ।
१ फेब्रुअरी २०२३
अडानी कम्पनीले आफ्नो एफपीओ फिर्ता लियो ।
२ फेब्रुअरी २०२३
अडानी समुहका कम्पनीको सेयर मूल्यमा उच्च कमि आएपछि भारतको केन्द्रीय बैंक आरबीआईले अडानी समुहका कम्पनीलाई ऋण दिने बैंक तथा वित्तीय संस्थासहित सबैसँग विवरण माग्यो ।
सोही दिन गौतम अडानीले ४ मिनेट ५ सेकेन्डको एक भिडियो सार्वजनिक गरी एफपीओ फिर्ता लिनुको कारण बारे जानकारी गराए ।
३ फेब्रुअरी २०२३
एक टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा भारतका वित्तमन्त्री निर्मला सितारमणले बैंकिङ क्षेत्र राम्रो अवस्थामा रहेको र वित्तीय बजार नियम अनुसार संचालन भइरहेको बताइन् ।

 

१० दिनमा १०० अर्ब डलरको नोक्सान
अडानी समुह असाध्यै छोटो समयमा नै अति धेरै नोक्सानी व्यहोरिरहेको छ । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार जनवरी २४ देखि फेब्रुअरी ४ सम्ममा अडानी समुहले १०० अर्ब अमेरिकी डलर बराबरको नेक्सानी व्यहोरेको छ ।

भारतको एक पुँजी बजार संचालक नेसनल स्टक एक्सचेन्जले अडानी समुहका तीन कम्पनीहरु अडानी इन्टरप्राइजेज, अडानी पोर्ट र अम्बुजा सिमेन्टलाई एडिसनल सर्विलेन्स मेजर फ्रेमवर्क (एएसएम) मा राखेको छ । गत शुक्रबारदेखि लागू हुने गरी ती तीनवटै कम्पनी एएसएममा राखिएको हो ।

एएसएममा कुनै पनि कम्पनीलाई राख्नु भनेको सो कम्पनीको सेयर मूल्य असाध्यै अस्थिर छ, लगानीकर्ताले विषयमा यकिन भएर मात्रै लगानी गर्नुपर्छ भन्ने हो । -(अन्तराष्ट्रिय संचार माध्यमहरुको सहयोगमा)

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्