स्नातक चौथो वर्षका विद्यार्थीको माग पूरा गर्न आग्रह

शुक्रबार, माघ २०, २०७९

काठमाडौँ –नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्नातक तह चौथो वर्षका विद्यार्थीले उठाएको माग तत्काल त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बोधन गर्नुपर्ने माग गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार सामाजिक सञ्जालमार्फत ती माग पूरा गर्न माग गरेका हुन् ।

‘स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थी साथीहरूले वार्षिक परीक्षाका सम्बन्धमा उठाउनुभएका मागबारे नेविसंघ गम्भीर छ । ती मागको उचित सम्बोधनका लागि हामी सम्बन्धित निकायसँग माग गर्दछौँ,’उनले भनेका छन् । 

यसैगरी उनले नियमित शैक्षिक सत्रमा नकारात्मक असर नपर्ने गरी आसन्न स्ववियु निर्वाचनमा मत दिन पाउने सबै विद्यार्थीको अधिकार सुनिश्चित गर्न पनि माग गरेका छन् । 

स्नातक तह चौथो वर्षका विद्यार्थीले वार्षिक परीक्षा तालिका संशोधनको माग गरी आन्दोलन गर्दै आएका छन् । त्रिविले २०७९ सालमा सञ्चालन हुने चारवर्षे स्नातक तह चौथो वर्षको शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका नियमित तथा आंशिक परीक्षाका लागि पुस २९ गतेदेखि २०७९ साल माघ २९ गतेसम्म नियमित दस्तुरसहित आवेदन फाराम भरेर बुझाउन आग्रह गरेको थियो ।

यसैगरी साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित आवेदन फाराम भरी बुझाउन त्रिविले आग्रह गरेको छ । एक हप्ता थप हुँदा फाराम भर्ने समय सीमा फागुन ७ गतेसम्म पुग्छ ।

त्रिविले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार यी संकायका वार्षिक परीक्षा फागुन १० गतेदेखि शुरु हुनेछ । यो परीक्षा तालिका संशोधन गर्नुपर्ने उनीहरूको अडान छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्