सकियो संक्रान्ति, सकिएन घिउ चाकु (तस्बिर कथा)

बुधबार, माघ १८, २०७९

काठमाडौँ– माघे संक्रान्ति सकिए पनि घिउ चाकु सकिएको छैन । माघे संक्रान्तिमा खानैपर्ने घिउ चाकु विगतका वर्षहरूमा अपुग हुन्थ्यो । त्यही परिमाणको घिउ चाकु बनाए पनि यस वर्ष नसकिएपछि असन बजारको अन्नपूर्णपछाडि वर्षौंदेखि घिउ चाकुको व्यवसाय गर्दै आएका राजेन्द्र तुलाधर चिन्तित छन् । 

‘हरेक वर्ष अपुग हुन्थ्यो, अहिले माघीका लागि बनाएको घिउ चाकु सकिएन । माघीमै घिउ चाकु बिक्री नभएपछि अरू दिनमा हुन्छ भन्ने अपेक्षा पनि हुँदैन,’ तुलाधरले भने । 

326228882_628252172637521_8786390933352636924_n1675213800.jpg

चाडबाडका बेलामा खुट्टा राख्ने ठाउँ नहुने असन बजारमा यो वर्षको माघीमा आउजाउ नै कम भएको उनको अनुभव छ ।

वर्षौंदेखि एउटै ठाउँमा एउटै व्यवसाय गर्दै आएका तुलाधरसँग अरूबेला पनि असनमा बिहानैदेखि राति अबेरसम्म भीड लाग्ने गरेको अनुभव छ । 

‘अरू बेला पनि त्यति भीड हुँदैन, चाडबाडको बेला यहाँ खुट्टा राख्ने ठाउँ हुन्थेन, तर अहिले त्यस्तो भएन,’ उनले सुनाए । 

326378176_1201367393825907_8576990153815652940_n1675213799.jpg

मंसिर लागेदेखि नै घिउ चाकुको उत्पादनमा लाग्ने उनीहरू माघ १ गतेकै दिन सबै बेचेर सकिन्थ्यो । २ महिना लामो कामपछि तयार हुने घिउ चाकु राम्रो व्यापार भए १ दिनमै सकिने गरेको असनका व्यापारीको भनाइ छ । 

‘कोरोनाको महामारीमा पनि घिउ चाकुको व्यवसाय राम्रो भएको थियो, तर अहिले यहाँ पार्किङ गर्न नदिने भएपछि व्यापार नभएको जस्तो मलाई लागेको छ । पार्किङ गर्ने ठाउँ नभएपछि यहाँ आएर किन्ने कुरा भएन । त्यसैले व्यापार पनि घट्यो,’ उनले भने । 

४० बर्ष पुरानो असनको अन्नपूर्ण मन्दिरपछाडि रहेको सानो र चिटिक्क परेको पसलमा राजेन्द्रले घिउ चाकु र तेलबाहेक अरू केही बेच्दैनन्  । उनी १२ महिना नै घिउ चाकुका अलावा अग्र्यानिक तोरीको तेल बेच्छन् । 

‘उहाँ (बालेन शाह)लाई काठमाडौँको मेयरमा जिताएर केही नयाँ गर्नुहोला, हाम्रा दुःखका दिन कम होलान् भन्ने अपेक्षा थियो । तर उहाँले हाम्रै रोजीरोटी खोस्ने गरी झन् नयाँ गरिदिनुभयो,’ सोही ठाउँका अर्का एक व्यापारी गुनासो गर्दै थिए । 325634704_721061602919360_3324385744005837466_n1675213800.jpg

मुख्य सडकमा पैसा उठाउने पार्किङ बनाएर भित्री सडकको पार्किङ उठाएको उनको गुनासो छ ।

‘कमिसन आउँछ होला, त्यसैले मुख्य सडकमा पार्किङ बनाएका छन् । भित्रको पार्किङ हटाएका कारण हाम्रो व्यापार नभएको उहाँहरूले कहिले बुझ्नुहुन्छ ?’

माघको १५ घर्किएको छ । विगतका वर्षहरूमा १ दिनमा हुने घिउ चाकुको व्यापार अहिले १५ दिनसम्म पनि नभएपछि व्यापारीहरूले चित्त दुखाएका हुन् । 

 

326516867_860810405025411_2335280401092130463_n1675213800.jpg

326071682_3386569121631579_7124719484102307143_n1675213799.jpg

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  ०६:५२
प्रतिक्रिया दिनुहोस्