‘बापु’को आगमनले लुम्बिनीका व्यवसायी उत्साहित

मंगलबार, माघ १७, २०७९

भैरहवा– लामो समयपछि लुम्बिनीका व्यवसायी उत्साहित भएका छन् । लुम्बिनी तथा यस आसपासका ९० प्रतिशत होटल बुक भइसकेका छन् । यति धेरै होटल बुक भएको यो नै पहिलोपटक रहेको होटल व्यवसायीको भनाइ छ । 

लुम्बिनीमा भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापुको आगमन हुने भएपछि यसले त्यो क्षेत्रका व्यवसायीमा उत्साह थपेको छ । माघ २१ गतेदेखि २९ गतेसम्म लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा मोरारी बापुद्वारा हुने ‘श्री रामकथा प्रवचन’ का लागि लुम्बिनीका होटल पहिलेदेखि नै बुक भइसकेका छन् । 

करिब एक सय ७० देशबाट मोरारी बापुका हजारौँ अनुयायी लुम्बिनी आउँदै छन् । यसले यस क्षेत्रको होटल व्यवसायसँगै स्थानीय व्यापार पनि फस्टाउने लुम्बिनी होटल व्यवसायी सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीको भनाइ छ । ‘बापुको आगमनले हामीमा उत्साह थपेको छ, अहिले नै ९० प्रतिशत होटल बुक भइसकेका छन्”, ज्ञवालीले भन्नुभयो, “यसले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप सहयोग गर्नेछ ।’

लुम्बिनीमा रहेका करिब एक सय २५ होटलमध्ये एक सय बढी होटल बुक भइसकेको ज्ञवालीले जानकारी दिए । यो क्रम अझै पनि चलिरहेकाले होटल बुक हुने प्रतिशत अझै बढ्न सक्ने उनको भनाइ छ । उनले लुम्बिनीका होटल मात्र नभई बापुको आगमनले यस क्षेत्रका अन्य व्यापारीको पनि उत्साह बढेको बताए । 

करिब नौ दिनसम्म चल्ने प्रवचनमा दैनिक १० हजार जनालाई तीन समय निःशुल्क प्रसाद आयोजकले खुवाउने जानकारी दिएका छन् । प्रसादमा प्रयोग हुने सामग्री यसै क्षेत्रका व्यवसायीले उपलब्ध गराउने भएकाले यहाँको आर्थिक क्षेत्र गतिमान हुने ज्ञवालीको भनाइ छ । 

‘हामीले हाम्रो व्यवसाय प्रवर्द्धन गर्न तथा लुम्बिनीको प्रचारप्रचारका लागि दौडधूप गरिरहेका थियौँ’, अध्यक्ष ज्ञवालीले भने, ‘बापुको आगमनका कारण लाखौँ पर्यटकमाझ हाम्रो प्रचारप्रसार हुने भयो, कार्यक्रम सफल बनाउन हाम्रो पूर्ण सहयोग रहनेछ ।’

राम कथा प्रेम यज्ञ समितिको आयोजनामा आध्यात्मिक गुरु मोरारी बापुको लुम्बिनीमा नौ सय १२ औँ राम कथा आयोजना हुन लागेको हो । ‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका उहाँले सबै धर्मका प्रमुख तीर्थस्थल एवं प्रमुख स्थानमा प्रवचन गर्दै आएका छन् ।

अभियानअन्तर्गत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा रामकथा प्रवचन सम्पन्न भइसकेको छ । 

नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो । यसअघि सन् २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो । 

यसैगरी काठमाडौँ र भुसुण्डी सरोवर (तिलिचो ताल्)मा समेत राम कथा वाचन भइसकेको छ ।

लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराउनुका साथै कार्यक्रमका अवसरमा विश्व शान्तिको कामना गर्दै नौ सय १२ वटा बिरुवा लगाउने कार्यक्रम भएको संयोजक राजेशकुमार अग्रवालले जानकारी दिए ।

मोरारी बापु यही माघ २० गते भारतबाट चार्टर्ड विमानमार्फत सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अवतरण गर्ने कार्यक्रम रहेको कथा आयोजक कृष्णकुमार जालानले जानकारी दिए । त्यसलगत्तै उनी भगवान् बुद्धको जन्मस्थलको दर्शन गरी बुद्ध लुम्बिनी गार्डेन होटलमा तयार गरिएको आफ्नो आवासमा पुग्ने कार्यक्रम रहेको छ ।

यसअघि सन् २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । कार्यक्रमको चर्चित भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट एक सय ७० बढी देशमा प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको आयोजक प्रतिनिधि विकास केडियाले जानकारी दिए ।

कथा कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायत सीमावर्ती भारतीय सहर तथा गाउँबाट समेत कथा श्रवणका लागि सर्वसाधारणलाई निमन्त्रणा गरिएको छ ।

कार्यक्रममा धेरैभन्दा धेरै तीर्थालु पहिलोपटक लुम्बिनीमा प्रवचन सुन्नका लागि आउने आयोजकको दाबी छ । यो कार्यक्रमले लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्