लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनको तयारी तीव्र

मंगलबार, माघ १७, २०७९

दाङ –लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि निर्वाचन तयारी अन्तिम अवस्थामा पुगेको छ ।

२५ माघमा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले ३ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

नेकपा (एमाले) बाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्न राजीनामा दिएपछि राष्ट्रियसभाको १ पद रिक्त भएको थियो ।

निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरूलाई निर्वाचन चिह्नसमेत प्रदान गरि सकिएको जानकारी दिए ।

निर्वाचनमा नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य, नेकपा (एमाले)ं बाट कुमार दसौती र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य गरी ३०५ जना मतदाता छन् । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १०:५९
प्रतिक्रिया दिनुहोस्