विधिकाे शासनका लागि लड्ने भनेका महामन्त्रीद्वय देउवाकाे निर्णयका अगाडि निरीह

बैठक सार्न सभापतिसँग मिलेको शंका
सोमबार, माघ १६, २०७९

काठमाडौँ– नेपाली कांग्रेसका कार्यकर्ताले यतिबेला महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई खोजिरहेका छन् ।

पटकपटक केन्द्रीय समितिको बैठक सरेपछि सभापति शेरबहादुर देउवाको एकल निर्णयलाई रोक्न महामन्त्रीद्वयको खोजी भएको हो ।

कांग्रेस संसदीय दलको नेतामा देउवाविरुद्ध लडेका महामन्त्री थापा र उनलाई समर्थन गरेका अर्का महामन्त्री शर्मा सभापति देउवाको एकल निर्णयमा केन्द्रीय समितिको बैठक पटकपटक सार्दा चुइँक्क बोल्न आँट गरेका छैनन् ।

प्रजातान्त्रिक प्रणाली र विधिको शासनका लागि काम गरिरहेका छौँ भन्ने महामन्त्रीद्वयको शून्य उपस्थितिले पार्टीभित्र उनीहरूको खोजी भएको हो । 

कांग्रेसका लागि गएको मंसिर ४ मा सम्पन्न आमनिर्वाचनपछि केन्द्रीय समितिको बैठक बस्नुपर्ने बाध्यता थियो ।

निर्वाचनमा पहिलो पार्टी भए पनि निर्वाचनको नतिजासँग कांग्रेसका केन्द्रीय सदस्यहरू सन्तुष्ट छैनन् । उनीहरू पार्टीको समानुपातिक मतसँग पनि त्यति सन्तुष्ट देखिँदैनन् ।

निर्वाचनको परिणामसँग सन्तुष्ट नभएका कार्यकर्ताले निर्वाचनको समीक्षाका लागि पनि केन्द्रीय समिति बैठक बस्न आवश्यक रहेको बताउँदै आएका छन् । 

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे धेरै पटक केन्द्रीय समिति बैठक बस्नुपर्ने आवश्यकता खट्किएको बताउँछन् ।

नेतृत्वलाई गठबन्धन किन टुट्यो ? भन्ने प्रश्न गर्न पनि बैठकको माग केन्द्रीय सदस्यले गरिरहेका छन् । 

‘निर्वाचनको समीक्षा, गठबन्धन भत्किएको विषय र राष्ट्रपतिको निर्वाचनका विषयमा पनि केन्द्रीय समिति बैठकमा छलफल हुनुपर्ने हो । ४ पटक बैठक सारिसकिएको छ,’ उनले भने, ‘बैठक सारेर समास्या समाधान हुने होइन । बरु लोकतान्त्रिक पार्टीको सिद्धान्तमाथि प्रश्न उठ्छ ।’

निर्वाचनको नतिजा, गठबन्धन टुट्नेलगायत विषयमा प्रश्न उठ्ने भए पनि केन्द्रीय समिति बैठक अहिलेको आवश्यकता भएको केन्द्रीय सदस्य बताउँछन् । 

पुस १० गते तत्कालीन गठबन्धन भत्किएपछि अहिलेसम्म कांग्रेसको केन्द्रीय समिति बैठक बस्न सकिरहेको छैन ।

केन्द्रीय नेता तथा कार्यकर्ताले सभापतिको हठका कारण गठबन्धन टुटेको आरोप लगाइरहेका छन् । केन्द्रीय समिति बैठकमा त्यो आरोप सीधा आउने आउने भएपछि सभापतिले पटक–पटक बैठक सार्दै आएका छन् ।

पार्टीभित्र सभापतिले बैठक बोलाउने नियम भए पनि पदाधिकारीले पनि पहल गर्नुपर्ने घिमिरेले बताए । 

‘सभापतिले बैठक सार्नुभएको छ । १–२ जनाको नाम भन्दा पनि सबै पदाधिकारीले उहाँकै निर्णयलाई मान्नुभएको छ, पार्टीको विधानको बर्खिलाप जाने गरी पदाधिकारी बस्नु हुँदैनथ्यो,’ घिमिरेले भने ।

नेपाली कांग्रेसको विधानको धारा २२ को उपधारा १२ मा केन्द्रीय कार्यसमितिको बैठक कम्तीमा प्रत्येक २ महिनामा बस्ने व्यवस्था गरिएको छ । तर, पछिल्लो २ महिनामा ४ पटक केन्द्रीय समिति बैठक सारिएको छ भने पछिल्लो पटक अनिश्चितकालका लागि बैठक स्थगन भएको छ । 

मंसिर ४ को निर्वाचनपछि मंसिर २४ गते समानुपातिक उम्मेदवारको टुंगो लगाउन कार्यसमिति बैठक बसेको थियो । तर, पुस १० गते नयाँ राजनीतिक समीकरण भएपछि कांग्रेसले केन्द्रीय समिति बैठक बोलाउन सकेको छैन । 

बैठकमा आलोचना हुने डरका कारण सभापतिले बैठक सारिरहेको आरोप लाग्ने गरेको छ । निर्वाचनको नतिजा, गठबन्धन टुट्नेलगायत विषयमा प्रश्न उठ्ने भए पनि केन्द्रीय समिति बैठक अहिलेको आवश्यकता भएको केन्द्रीय सदस्य बताउँछन् । 

कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा बैठक बस्नुपर्ने आवश्यकता महसुस भएको भन्दै युवा महामन्त्रीले सुझबुझले काम लिने विश्वास व्यक्त गरे । 

तर, कांग्रेसले राष्ट्रपतिका विषयमा छलफल गर्नका लागि समेत केन्द्रीय समिति बैठक बोलाउन नसकेको नेताहरूको गुनासो छ । 

‘बैठक बोलाउन पहल किन गर्नुभएन, त्यो उहाँलाई नै सोध्नु होला । तर युवा महामन्त्री हुनुहुन्छ, सुझबुझका साथ काम गर्नुहुन्छ भन्ने विश्वास गरेका छौँ,’ खतिवडाले भने । 

नेकपा एमालेको पहलमा बनेको गठबन्धनबाट प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।

यसको बदलामा राष्ट्रपतिमा कांग्रेसलाई माओवादीले सघाउने चर्चा राजनीतिक वृत्तमा भइरहेको छ ।

तर, कांग्रेसले राष्ट्रपतिका विषयमा छलफल गर्नका लागि समेत केन्द्रीय समिति बैठक बोलाउन नसकेको नेताहरूको गुनासो छ । 

‘महामन्त्री पार्टीभित्रको शक्तिशाली पद हो । सभापतिले गरेको निर्णयमा ‘हो मा हा’े मिलाउनुभन्दा पनि तत्कालीन आवश्यकता के हो भन्ने विषयमा आफ्नो धारणा पनि बनाउनु पर्छ, प्रजातान्त्रिक पार्टी पद्धतिको खिल्ली उडाउँदै सभापतिले भनेकै कुरामा हो मा हो मिलाउनु हुँदैन,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने । 

केन्द्रीय सदस्य घिमिरे पनि पार्टीको बैठक बोलाएर १/२ जना नेताको सम्बोधनसहित बैठक स्थगित गरेर राष्ट्रपतिको निर्वाचनमा पनि जान सकिने सुझाव दिन्छन् । 

‘बैठकमा सबैलाई बोल्ने पालो दिनुभन्दा मुख्य नेताको सम्बोधनपछि बैठक स्थगित गरेर राष्ट्रपति निर्वाचनमा जान सकिन्थ्यो । तर, त्यो हुन सकेको छैन,’ घिमिरेले भने ।
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्