राष्ट्रपतिमा एमाले हार्छ भन्ने कल्पना बाहिरको कुरा : एमाले महासचिव पोखरेल

सोमबार, माघ १६, २०७९

विराटनगर–नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिमा दाबी गर्नु अर्थहीन भएको टिप्पणी गरेका छन् ।

कांग्रेस दिशाहीन भएको र सुरुमै आफ्नो ‘पोजिसन’ प्रष्ट नपारेको उनको भनाइ छ ।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोखरेलले कांग्रेसले राष्ट्रपतिमा दाबी गर्न नहुने दाबी गरे ।

‘अहिले कांग्रेस न सत्ता पक्ष न प्रतिपक्ष जस्तो देखिएको छ । कांग्रेस अहिले दिशाहीन अवस्थामा छ । यसले पहिला आफ्नो ‘पोजिसन’ प्रष्ट पर्न आवश्यक छ,’ उनले भने । 

राष्ट्रपतिको चुनावको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहार नकारात्मक नभएको उनको दाबी छ ।

प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नरहेको समेत उनले बताए । ‘राष्ट्रिय सहमति खोज्नुको अर्थ प्रतिपक्षलाई दिनुभन्ने होइन’, उनले भने, ‘प्रधानमन्त्रीले पनि सत्ता गठबन्धन भित्र बाट नै राष्ट्रपति होस भन्ने चाहनु भएको छ,’ पोखरेलले भने । राष्ट्रपतिमा एमालेको उम्मेदवार हार्छ भन्ने कल्पना बाहिरको कुरा भएको उनको तर्क छ । 

संघदेखि प्रदेशसम्मै गठबन्धनको सरकार रहेकाले कांग्रेसले सत्ताबाहिर रहँदा अस्थिरता ल्याउन लागेको आरोप पनि उनलले लगाए ।

गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीबीच छलफल भएर मात्रै टुङ्गिने उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्