सहिदको त्यागकै कारण अहिलेको व्यवस्था सम्भव भएको हो : प्रचण्ड

सोमबार, माघ १६, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरूको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन् । 

सोमबार सहिद दिवसको अवसरमा लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

सहिदहरूले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताउँदै उनले  देश र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने सहिदहरू अमर र अजर रहने बताए । 

उनले राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुनका लागि सहिदहरू प्रेरणाको स्रोत भएको पनि बताए । 

माघ १६ गतेलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सीमित नगरी सहिदहरूको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्ने उनको भनाइ थियो । 

आजको दिन सहिदहरूको सम्मानका लागि सबैले देश विकासका लागि संकल्प गर्नुपर्ने उनले सुनाए । 

प्रधानमन्त्री दाहालले आज माघ १६ गते सहिद दिवसको अवसरमा सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहिदहरूको शालिकमा माल्यार्पणसमेत गरे ।
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १०:४१
प्रतिक्रिया दिनुहोस्