सहिदका सपना पूरा गर्न सबै लागौँ : प्रधानमन्त्री [तस्बिरहरू]

सोमबार, माघ १६, २०७९

काठमाडौँ– प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी मनाइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।

सहिद दिवसको अवसरमा लैनचौरस्थित सहिद स्मारकमा पुष्पगुच्छा तथा सम्मान  अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । 

चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ रहेको उल्लेख गर्दै उनले सहिदका सपना पूरा गर्न आह्वान गरेका हुन् ।

उनले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी आयोजना गरिएको थियो ।

काठमाडौँ महानगरपालिकाको आयोजनामा मनाइएको सहिद दिवसको अवसरमा प्रधानमन्त्रीसहित नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, काठमाडौँ उपत्यका प्रहरी प्रमुख दिवेश लोहनी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रसाद गौतम, उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिआइजी मीरा चौधरी, काठमाडौँका मेयर बालेन्द्र शाह बालेन, उपमेयर सुनिता डंगोल, प्रशासकीय अधिकृत वसन्त अधिकारीलगायत सहिद स्मारक पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । 

 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १०:२५
प्रतिक्रिया दिनुहोस्