सहिदको सपना पूरा गर्न हातेमालो गरौँ : प्रधानमन्त्री दाहाल

सोमबार, माघ १६, २०७९

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै उनले सहिदका सपना पूरा गर्न आह्वान गरेका हुन् । 
    
सहिद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन्। ‘सहिदहरूले देखाएको बाटोमा शब्दमा मात्र होइन, कर्ममा समेत अनवरत रूपमा लामबद्ध हुन, उहाँहरूको त्याग र प्रेरणा राष्ट्र र जनताको विकास एवं समृद्धिका लागि खर्चिने सङ्कल्प गर्न म आम जनसमुदायमा हार्दिक अपिल गर्दछु,’ प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ । 

प्रधानमन्त्री दाहाललले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध र समुन्नत बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुनेछ भन्ने विश्वास पनि लिएका छन् । उनले दिवसको ऐतिहासिक दिनले देश र जनताको समुन्नत भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासहित सहिदको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न सबैमा आह्वान गरेका हुन् । 

‘तानाशाही र निरङ्कुश व्यवस्थाका विरूद्ध सङ्घर्षका क्रममा उच्च बलिदानी गर्नुहुने महान् शहीदहरूको बलिदानी भएको दिनलाई हामीले शहीद दिवसका रूपमा स्मरण गर्दै आएका छौँ, आजको दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन हो,’ सन्देशमा भनिएको छ ।  
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ०६:५६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार