किन गरिन्छ सडकमा ‘पिच’माथि पिच ?

आइतबार, माघ १५, २०७९

काठमाडौँ– तपाईंहामी जोकोहीले पनि काठमाडौँका मूल सडक कतै पिचमाथि पिच त कतै खाल्डाखुल्डी देख्छौँ । कतै पिच उप्किएर वर्षौंदेखि मर्मत नगर्दा खाल्डाखुल्डीको जोखिम मोलिरहेका हुन्छौँ ।

सडक विभाग र अन्य निकायले गर्ने सडक मर्मतमा किन यस्तो लापरबाही हुन्छ होला ? कतै पिचमाथि पिच सडक त कहीँ खाल्डाखुल्डी सडक किन हुन्छ भनेर हामीले सडक मर्मत गर्ने निकाय र अन्य निकायलाई गाली गरिरहेका हुन्छौँ ।

सडक विभागका इन्जिनियर भने सडकमा पिचमाथि पिच भएको कुरा मान्न तयार छैनन् । सडक विभागका प्रवक्तासमेत रहेका इन्जिनियर भीमार्जुन अधिकारीले अर्को पिच गर्न भएको पिच भत्किनैपर्छ भन्ने नहुने बताउँछन् ।

writer1675006676.png

‘सडक पिचमाथि पिच होइन, एकचोटि पिच गरिसकेपछि त्यो भत्किनैपर्छ भन्ने हुँदैन । सामान्यतया ४/५ वर्षसम्म मात्र पिचको अवधि हुन्छ, त्यो पनि ट्राफिकको चापअनुसार । निश्चित अवधिपछि त्यो ‘फिक्सन’ ले काम गर्दैन । गाडीको घस्रिने क्षमता हुन्छ, त्यसले काम गर्दैन । यीलगायत विभिन्न कारणले काम नगर्ने भएकाले एक तह पुनः पिच गरिन्छ,’ प्रवक्ता अधिकारीले भने ।

सडकको ‘सर्फेस’ वा फिक्सन कति बिग्रिन्छ भन्ने कुरा ट्राफिक चापमा निर्भर हुने उनी बताउँछन् ।

‘जहाँ उच्च ट्राफिक चाप हुन्छ, त्यस्ता क्षेत्रका सडकमा पिचमाथि पिच हुने हुन्छ, जहाँ कम ट्राफिक हुन्छ, त्यहाँ धेरै वर्षपछि सडक पिच गर्दा पनि हुन्छ । पिच भत्केपछि नै पिच गर्ने भन्ने हुँदैन,’ उनले भने ।

सडक पिच गर्दा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर कत्तिको मजबुत र गुणस्तरीय छ भन्ने कुराले पनि सडकको आयु निर्भर गर्ने इन्जिनियर अधिकारी बताउँछन् । 

‘कमसल निर्माण सामग्रीले छिट्टै सडकको पिच उप्किने र खाल्डाखुल्डी हुने गरेको देखिन्छ, पिच कति गर्ने भन्ने कुरा त्यसको क्षमताले निर्धारण गर्छ,’ उनी भन्छन् ।

काठमाडौँ उपत्यकाभित्रका बढी ट्राफिक चाप हुने सडकमा प्रायः पिचमाथि पिच गरेको देखिन्छ । तर, भित्री सडकमा ट्राफिक चाप कम पर्ने भएकाले लामो समयपछि मात्र पिच गर्ने गरिन्छ । लामो समय मर्मत र पिच नगरिँदा काठमाडौँका भित्री सडकमा खाल्डाखुल्डी देखिने गरेको छ ।

नेपाल टेलिकम, विद्युत् प्राधिकरण र खानेपानीलगायतले पाइप तथा तार बिछ्याउन सडक खन्ने, तर लामो समयसम्म पुर्ने र मर्मत गर्ने नगर्दा सडकको अवस्था कुरूप बन्ने गरेको छ । 

चालु आर्थिक वर्ष २०७९/८० मा सडक विभागले सडक मर्मत तथा सम्भारतर्फ ५ अर्ब २५ करोड रकम छुट्याएको छ । खास गरी पटके सडक मर्मत, आकस्मिक मर्मत सम्भार, आवधिक मर्मत सम्भारतर्फ सो बजेट खर्च हुने विभागले जनाएको छ ।

सडक विभागअन्तर्गत पर्ने ठुला र रणनीतिक सडकको मर्मत तथा सम्भार गर्ने गरेको विभागको मर्मत सम्भार शाखाका सिनियर डिभिजन इन्जिनियर विनोद भट्टराई बताउँछन् । 

खास गरी, बिग्रेका, भासिएका, टुक्रिएका र ओभरले गर्नुपर्ने सडकको आवधिक मर्मत सम्भार गर्नुपर्छ ।

कतिपय सडक मर्मतका लागि ठेक्का लागिसकेको र कतिपय सडक छेउछाउ सफा गर्ने र कतै पिच गर्ने कामसमेत भइरहेको उनले बताए ।

सरकारले बर्सेनि सडक मर्मत तथा सम्भारमा अर्बौं रकम खर्चिए पनि सडकको गुणस्तर अपेक्षित रूपमा सुध्रिन सकेको छैन ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ०६:३०
प्रतिक्रिया दिनुहोस्