बाजुरा भूकम्प

४०० घरमा क्षति, ४२ परिवार विस्थापित

शुक्रबार, माघ १३, २०७९

बाजुरा– बाजुरामा मंगलबार दिउँसो गएको ५ दशमलव ९ रेक्टरको भूकम्पबाट ४२ परिवार पूर्ण रूपमा विस्थापित भएका छन् । भूकम्पबाट ३ स्थानीय तहका ४२ परिवार विस्थापित भएका हुन् ।

भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

बडिमालिकाका १२, हिमालीका ४ र गौमुलका १४ परिवार आफन्तकहाँ बसेका छन् । भूकम्पले घर चर्किएका र बस्ने अवस्थाका नभएकाले ५ परिवार त्रिपालको सहारमा छन् ।

भूकम्पपछि बडिमालिकाका १, गौमुलका १ र हिमालीका ३ परिवार त्रिपालको सहारामा रात काट्न बाध्य छन् । बडिमालिकाको एउटा परिवार मन्दिरमा बास बस्न थालेको थापाले बताए ।

४०० घरमा क्षति

भूकम्पका कारण झन्डै ४०० घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले संकलन गरेको क्षतिको विवरणअनुसार सबैभन्दा बडिमालिका नगरपालिकामा क्षति भएको छ ।

भूकम्पले बडिमालिकामा २१, बूढीनन्दामा ३ र बूढीगंगामा १ घर पूर्ण रूपमा क्षति भएका छन् भने हिमालीमा १९, गौमुलमा ११, खप्तड छेडेदहमा ४, स्वामीकार्तिक खापर गाउँपालिकामा १ गरी ६० घर पूर्ण रूपमा क्षति भएको डिएसपी थापाले बताए । 

बडिमालिकामा ३१, बूढीनन्दामा ९, हिमालीमा ९, खप्तड छेडेदहमा ५ र गौमुलमा ५ घरमा आंशिक क्षति पुगेको छ ।

यसैगरी भूकम्पले बडिमालिकामा १८७, बूढीनन्दा नगरपालिकामा १, हिमालीमा ४० र स्वामीकार्तिक खापर गाउँपालिकामा १ घरमा सामान्य क्षति पुगेको छ ।

भूकम्पबाट प्रहरी चौकी बिच्छ्या जोखिममा छ । प्रहरी चौकी कुन्नार कारागार सुरक्षा गार्ड ब्यारेक चर्किएको छ ।

भूकम्पबाट गौमुल गाउँपालिका–२ जुरीलेकी ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो । भूकम्पबाट गौमुल–१ अम्लिसका ३५ वर्षीय राजदल बोहरा, बडिमालिका नगरपालिका–२ की ४२ वर्षीया चन्द्रा महत, हिमाली गाउँपालिका–१ की ६ वर्षीया सुश्रीता थापा र हुम्ला जिल्ला घर घई हिमाली–६ मा दिदीको घर आएकी १६ वर्षीया सरिता नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।

बोहरा, महत र नेपाली उपचारपछि घर फर्किएका छन् भने थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । भूकम्पका कारण गौमुल–१ अम्लिसका बोहराका ३५ भेडा मरेको डिएसपी थापाले बताए । भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १०:४७
प्रतिक्रिया दिनुहोस्