नेप्सेमा झिनो अंकको गिरावट

बिहीबार, माघ १२, २०७९

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.४१ अंकले घटेर २ हजार १८३ दशमलव २१ मा सीमित भएको छ ।

आजको कारोबारमा ठुला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१० अंकले ओरालो लागेर ४१३.१४ मा झरेको छ ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये ६ उपसमूहको सेयर मूल्यमा वृद्धि हुँदा ७ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएकामध्ये कुल १०१ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १०७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

आजको कारोबारमा ७७ लाख ६४ हजार १५३ कित्ता सेयर २ अर्ब ८६ करोड ८२ हजार ८३८ रुपैयाँमा कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा समृद्धि फाइनान्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको ९ करोड ७० लाख ९५ हजार ७०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै, रिडी पावर कम्पनी ८ करोड ६१ लाख ६४ हजार ७६९, आँखु खोला जलविद्युत् कम्पनी ७ करोड ३८ लाख ६८ हजार ८९४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ६ करोड ६७ लाख ६७ हजार ९३४ र अपि पावर कम्पनी ६ करोड ४१ लाख ८ हजार ८१४ रुपैयाँ बराबरको कारोबार भई शीर्ष ५ मा पर्न सफल भए ।

नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त, बाराही हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्स ९ दशमलव ९८ र साञ्जेन जलविद्युत् कम्पनीका लगानीकर्ताले ८ दशमलव २३ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, समृद्धि फाइनान्स ७ दशमलव ६८, सप्तकोसी डेभलपमेन्ट बैंक ४ दशमलव ५०, ग्रिन भेञ्चर्स ४ दशमलव ५०, सपोर्ट माइक्रोफाइनान्स ३ दशमलव ७३ र सानिमा इक्विटी फन्डका लगानीकर्ताले ३ दशमलव ६४ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्