Nic Ad Nic Ad
Nic Ad Nic Ad

बन्ने टुंगो नहुँदै बुढीगण्डकीको नाममा जनताबाट उठाइयो ७१ अर्ब

बिहीबार, माघ १२, २०७९

काठमाडौं– बहुप्रतिक्षित बुढीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजना विकास गर्ने चर्चा सुरु भएको दशकभन्दा बढी समय बितेको छ । २०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले परियोजना विकास गर्ने  योजना बनाएर सार्वजनिक गरेपछि यसको चर्चा सुरु भएको थियो ।

डा. भटट्राईकै कार्यकालमा परियोजनालाई राष्ट्रिय गौरवका रुपमा घोषणा गरियो । त्यसपछि, २०६९ सालमा बुढीगण्डकी आयोजना विकास समिति गठन गरियो । समिति गठन भएर परियोजना निर्माण थालनी भएको पनि एक दशकभन्दा बढी भइसकेको छ । तर, परियोजना बन्ने/नबन्ने अझै टुंगो छैन ।

९ सय मेगावाट जलविद्युत उत्पादन क्षमताको उक्त परियोजना दशकौं लम्बिनुको मुख्य कारण लगानीको स्रोत सुनिश्चित नहुनु, आयोजना प्रभावित क्षेत्रको जग्गा व्यवस्थापन नहुनु,  मुआव्जा र क्षतिपूर्ति वितरणमा ढिलाई लगायतले हो ।

यसअघि सन् २०१४ मा फान्सेली कम्पनी ट्याक्टवेल इन्जिनियरिङले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारी सरकारलाई बुझाइसकेको छ । डीपीआर बनाउदाको बखत आयोजनाको लागत २ खर्ब ६० अर्ब रुपैयाँ अनुमान गरिएको थियो । 

लगानीका लागि ठूलो धनराशी खर्चिन सरकार आफैँले स्रोत जुटाउन सकेको छैन । कहिले स्वदेशी लगानीमै बनाउने, कहिले विदेशी लगानी ल्याएर बनाउने भन्ने अन्योल लामो समयसम्म चलिरह्यो । अहिले पनि लगानी कसरी जुटाउने भन्ने अन्योल कायमै छ ।

विदेशी लगानी ल्याउन खोजिए पनि कुन मोडालिटीमा बनाउने भन्ने अन्यौल नटुंगिदा विदेशी कम्पनीले पनि परियोजनामा हात हाल्न सकेका छैनन् ।

तीन पटकसम्म चिनियाँ कम्पनी गेजुवा ग्रुप लिमिटेडलाई परियोजना बनाउन दिने भनेर सरकारले छलफल गर्यो । तर, कुनै सरकारले चिनियाँ कम्पनीलाई बनाउन दिने र कुनै सरकारले नदिने जस्ता नीतिगत अस्थीरताको कारण सो परियोजना कसले बनाउने भन्ने यकिन भएको नै छैन ।

अहिले परियोजनालाई स्वदेशी लगानीमै बनाउने योजना सरकारको छ । त्यसअनुरुप गत २०७९ भदौमा अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहने गरी ‘कम्पनी मोडेल’ मै बनाउने तयारी गरिएको छ ।

यद्यपि, त्यसका लागि पनि पूँजी कसरी जुटाउने र कुन मोडालिटीमा बनाउने भन्ने कुराको अन्योल कायमै छ । ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवाल कम्पनी मोडेलमा परियोजना तयारी गरिए पनि लगानीको स्रोत सुनिश्चितता अझै हुन नसकिरहेको बताउँछन् ।

‘बीचमा लामो समय ‘कन्फ्युजन’ भयो, तथापि, अहिले कम्पनी मोडलमा आयोजना बनाउने भनेर कम्पनी स्थापना भइसकेको छ, सकेसम्म स्वदेशी लगानीमै बनाउने भन्ने हो, नभए दातृ निकायकै सहयोगमा बनाउनुपर्छ,’ प्रवक्ता भेटुवालले भने ।

लगानी मोडालिटी के हुने भन्ने कुराको टुंगो  मन्त्रालयले छिट्टै लगाउने उनले बताए ।

जनतालाई करको भार पारेर परियोजना निर्माण अनिश्चित हुन नहुने तर्क ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानको छ । उनले जनताबाट कर उठाउने र मुआब्जा बाड्दैमा आयोजना बन्ने कुरामा ढुक्क हुन नसकिने बताउँछन् । 

‘जनतालाई पेट्रोलियम करबापत प्रतिलिटर ५ रुपैयाँको भार पारेर आयोजना नबन्नु राम्रो कुरा होइन, मुआव्जा बाड्दैमा आयोजना बन्ने होइन, अहिले पनि परियोजना निर्माण अनिर्णित हुनु दुखद छ,’ प्रधानले भने ।

मुआब्जा र क्षतिपूर्तिमा ४० अर्ब खर्च

गोरखामा बन्ने उक्त परियोजनाका लागि ५९ हजार रोपनी जग्गा आवश्यक पर्छ । त्यसमध्ये हालसम्म ४९ हजार रोपनी जग्गा मात्रै व्यवस्थापन भएको छ । बाँकी १० हजार रोपनी जग्गा अधिग्रहण अहिलेसम्म हुन सकेको छैन ।

जग्गा अधिग्रहणमा त्यसक्षेत्रका स्थानीयले विरोध र अवरोध गर्दै आएका छन् । उचित क्षतिपूर्ति र मुआब्जा दिनुपर्ने उनीहरुको माग छ । कतिपय ठाउँमा बस्ती स्थानान्तरण गर्नुपर्ने र पुर्नबासको व्यवस्था गर्नुपर्ने छ । गोरखा र धादिङसँगै नुवाकोट र मनाङ जिल्लाका केही क्षेत्रलाइ डुबाएर परियोजना निर्माण गर्ने योजना छ । सबैभन्दा बढी क्षति गोरखा र नुवाकोटमा पर्नेछ । प्रभावित क्षेत्रमा जग्गाको मुआव्जा र स्थानीयलाई क्षतिपूर्तिबापत झन्डै ४० अर्ब रुपैयाँ खर्च भएको छ । 

जनताबाट उठाइयो ७१ अर्ब

परियोजना विकास गर्न सरकारले २०७२ सालदेखि २०७६ सम्म जनताबाट डिजेल तथा पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत प्रतिलिटरमा ५ रुपैयाँ उठाउँदै आएको थियो । तर, २०७६ फागुन १२ मा भएको  मन्त्रिपरिषद्को निर्णयअनुसार पूर्वाधार कर ५ रुपैयाँबाट बढाएर १० रुपैयाँ प्रतिलिटरका दरले भन्सार विन्दुमा कर संकलन गर्दै आएको छ । हालसम्म पूर्वाधार करबापत आर्थिक वर्ष २०७७/०७८ सम्म जनताबाट ७१ अर्ब २१ करोड ८ लाख ७० हजार रुपैयाँ उठाइसकिएको छ । सोही करबापत उठेको रकमबाट परियोजनाको मुआब्जा वितरण, अध्ययन, डिजाइन र अन्य प्रशासनिक खर्च भइरहेको बुढीगण्डकी आयोजना विकास समिति बताउँछ । 

324001097_1095834491818209_5035584680260613552_n1674713206.png

जनताले विगत ७ वर्षदेखि परियोजनाका नाममा कर तिरिरहे पनि पनि आयोजना भने अनिश्चित नै देखिन्छ । परियोजना ८ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तर, अहिलेसम्म आयोजनाको जग बस्न सकेको छैन भने मोडालिटी र लगानीको स्रोत सुनिश्चितता हुन सकेको छैन । सरकारले बुढीगण्डकीलाई राष्ट्रिय गौरवको ‘गेम चेन्जर’ परियोजनाका रुपमा विकास गर्ने योजना बनाएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १०:१०
प्रतिक्रिया दिनुहोस्