निर्वाचित सांसदले आफ्नो गरिमा र महत्व बुझेर कदम चाल्नुपर्छ : सभामुख घिमिरे

बुधबार, माघ ११, २०७९

प्रतिनिधिसभाले हालै नयाँ सभामुख र उपसभामुख पाएको छ । माघ ५ गते सभामुखमा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन् भने माघ ७ गते भएको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । 

निर्वाचित भएसँगै सभामुख र उपसभामुखले प्रतिनिधिसभाको एउटा बैठक सञ्चालन गरिसकेका  कुनै दलको नेता भएर सभामुखले काम गरेको भन्नेजस्ता विगतमा लाग्ने गरेका आरोपबाट टाढा रहने चुनौती अहिलेका सभामुख र उपसभामुखलाई रहेको छ । दुवैले पार्टीगत रूपमा टाढा रहेर पार्टीका कुनै क्रियाकलापमा सहभागि नबनी सदनको भूमिकामा तटस्थ रूपमा निर्वाह गर्ने प्रतिवद्धता जनाइसकेका छन् । 

यसको परीक्षा आगामी दिनमा हुँदै जाने नै छ । सभामुखले संसदको नेताको रूपमा तटस्थ भूमिका निर्वाह गर्नुपर्छ । आफ्नो भूमिका कुनै दलगत नभई सभामुखको रूपमा रहने सभामुख घिमिरेले बताइसकेका छन् । उनले संसदमा नयाँ दल र नयाँ नेताहरू भए पनि दलगत प्रणालीबाटै आएकाले आधारभूत रूपमा खासै फरक नरहेको बताएका छन् ।

सभामुखको आगामी काम, कर्तव्य र संसदमा भूमिकाकाबारे न्युज एजेन्सी नेपालसँगको गरिएको कुराकानीको मुख्य अंश यस्तो छ ।

अहिलेको समयानुकुल आँखाले हेर्दा प्रतिनिधि सभालाई कसरी हेर्नुभएको छ र कसरी बुझ्नुभएको छ ?

प्रतिनिधिसभा स्वभाविक रूपले जनताको मत जितेर आएका जिम्मेवार नेताहरूको सभा हो । अथवा जनताको सार्वभौम सत्ता प्रयोग हुने थलो हो । जसरी आएको छ, हिजोको तुलनामा नयाँ पार्टी, नयाँ सोच, नयाँ विचारका नयाँ नेताहरूसहितको आएको छ । र संख्याको हिसाबले अलि ठूलो संख्यामा आएको छ । अनुभवको हिसाबले पनि अलि नयाँ नयाँ पार्टी, नयाँ नयाँ नेताहरू आउँदा त्यस खालको अनुभवभन्दा बाहिरका अनुभवहरूसहित आएका छन् । त्यस बाहेक एउटा प्रणालीबाट पनि आएका छ ।

त्यसमा हिजोको तुलनामा अलि फरक छ भन्नु स्वभाविक हो । तर आधारभूत रूपबाट त्यस्तो खास फरक छैन । त्यस्तो नयाँ मैले महशुस गरेको छैन ।

परम्परागत रूपमा रहेका राजनीतिक शक्ति र उनीहरूको प्रतिूपर्धीका रूपमा आएका शक्तिहरू बीचको द्वन्द्व देखिने हो कि भन्ने शंका पनि छ, तपाई सभाको रेफ्रीको भूमिकामा हुनुहुन्छ, कसरी कार्यसम्पादन गर्नुहुन्छ ?

एउटा प्रणालीमा आइसकेपछि प्रणालीको आधारबाट चल्नुपर्छ र चल्नुहुन्छ भन्ने मेरो विश्वास छ । खेलका नियमहरू भएजस्तै यहाँ पनि ऐन, नियम, परिपाटी र पद्धतिसम्मत ढंगबाट गएरै त्यसको रिजल्ट निकाल्ने कुरा हुन्छ । त्यो दिशामा सबै माननीयज्युहरूले भूमिका निर्वाह गर्नुहुन्छ र आइपरेका चुनौतिहरू भनेको जिम्मेवार नेताहरूको थलो भएको हुनाले, जिम्मेवार पार्टीहरू त्यहाँ भएको हुँदाखेरी जिम्मेवारीपूर्वक नै आइपरेका चुनौतिहरूलाई समाधान गर्न सकिन्छ, गर्नुहुन्छ । त्यो सहयोग मैले पाउँछु भन्ने मेरो बलियो आत्मविश्वास छ ।

अहिलेको संसदर सरकार त्रिशंकु अनि छ, सरकार आफू बलियो भइराख्न संसदको सबैभन्दा बढी सहारा खोज्ने गर्छ, यस्तो बेलामा तपाई निरपेक्ष र तटस्थ हुने की सापेक्ष सहयोगी हुने ?

राजनीतिले नै सबै कुराको छिनोफानो गर्छ । यो राजनीतिक छलफल, बहस गर्ने ठाउँ हो । त्यसलाई निकास दिनकै लागि तदनुकुलकै यसका व्यवस्थाहरू गरेका हुन्छन् । भन्नाले ऐन पनि तदनुकुल बनेको हुन्छ । नियमावली पनि तदनुकुल बनेको हुन्छ । निस्कर्ष पनि तदनुकुल नै निस्किन्छ । त्यही दिशाबाट जाँदा संसदको स्वरुप सरकारमा हुनु स्वभाविक छ । सरकार संसदमाथि निर्भर हुनु पनि स्वभाविक छ । तर त्यसको निकास त्यही ढंगले जानुपर्छ भन्ने मान्यता मैले राख्छु ।

संसदभित्र सांसदहरूको प्रस्तुति, भाषा, शैली खस्किँदै गएको भन्ने गरिन्छ, संसदको गरिमालाई फर्काउन कसरी काम गर्नुहुन्छ ?

यसलाई फर्काउने र धेरै अगाडी बढिसकेको वा हिजो यस्तो चाहीँ बेठिक थियो भनेर धेरै टिप्पणी गर्ने भन्दापनि ठिक ढंगले लैजान के गर्नुपर्छ भन्ने दिशाबाट सोच्नुपर्छ । त्यो सोच्नको लागि मुलतः जिम्मेवार राजनीतिक पार्टीहरु र निर्वाचित भएर आउनुभएका आम सांसदहरु हामी कुन ठाउँमा छौँ ? हाम्रो गरिमा के हो ?

हाम्रो महत्व के हो ? हामी माननीय भनेको मान्न योग्य कसरी भएका छौँ ? मान्न योग्यहरुले गर्ने व्यवहारहरु के हुन्छन् ? तरिकाहरु के हुन्छन् ? प्रणालीहरु के हुन्छन् ? भन्ने कुरामा कहीँ कतै कमजोरीहरु विगतमा भए, अथवा अहिले पनि त्यस्ता सोच वा व्यवहार देखिए भने त्यसप्रति गम्भीर बन्नुपर्छ । गम्भीर बनाउने मामिलामा सबैको दायित्व छ ।

मैले एउटा जिम्मेवारीमा बसेर यो भावनाका साथ काम गर्छु भन्ने सञ्चारको हिसाबले भन्ने हो भने उहाँहरूको पनि त्यस दिशामा सहयोग हुँदै आएको छ र अरु बढी सहयोगको जरुरी पनि पर्नसक्छ भन्ने मलाई लाग्छ ।

संघीय संसद विदेशी दातृ निकाय खेल्ने ठाउँ जस्तो अथवा उनीहरूको एजेण्डा चलाउने जस्तो भयो भन्ने आलोचना पनि छ, यी अवाञ्छित क्रियाकलापहरूबारे तपाईको बुझाई के छ ?

तपाईँले जुन तहमा भन्नुभयो अहिले म त्यो तहमा बुझाई राखेर त्यसमाथि प्रतिक्रिया दिइहाल्नुपर्ने ठाउँमा पुगिसकेको छैन ।

संसदीय गतिविधिलाई बाहिर लैजान नियमित रूपमा संसदीय मामिलासम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरूको अहम भूमिका हुन्छ, पत्रकारहरूमार्फत संसदका विषय वस्तुहरूको सही सम्प्रेषणका लागि कस्तो भूमिका रहन्छ ?

विगतबाट शिक्षा लिनु नै पर्छ । विगतमा त्यस्ता नकारात्मक शिक्षाहरू केही छन्, त्यस्ता केही घटना छन्, त्यस्तो प्रवृत्ति छन् भने त्यसलाई बिना पूर्वाग्रह त्यसबाट शिक्षा लिने र आफ्नो भूमिका कसरी राम्रो बनाउन सकिन्छ भन्ने सल्लाह गर्ने, छलफल गर्ने, योजना बनाउने हो । पक्ष, विपक्ष भएर आएको छ भने दुइटै पक्ष यसमा जिम्मेवार भएर अगाडि बढेर राम्रो वातावरण बनाएर संसद्लाई प्रभावकारी पार्ने कुरामा सबै पक्ष त्यसमा पनि तपाइँले भनेजस्तो छ भने त्यो दुईवटा पक्षका बीचमा मिलाएर जानुपर्छ । यो महत्वपूर्ण पक्ष हो भन्ने मलाई लाग्छ ।

 
 

 

 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्