बुधबारबाट ७ औँ पर्वत महोत्सव

मंगलबार, माघ १०, २०७९

पर्वत –सातौँ संस्करणको महोत्सव बुधवारदेखि सुरु हुँदै छ । समग्र पर्वतको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि उद्योग वाणिज्य सङ्घले महोत्सवको आयोजना गर्दैछ ।

२१ माघसम्म चल्ने महोत्सवको सबै तयारीहरू पुरा भएको आयोजकले जनाएको छ । सङ्घका अध्यक्ष गोपी अधिकारीले तयारीका सबै काम अन्तिम चरणमा पुगेको र दर्शकलाई स्वागतका लागि तयार भएर बसेको बताए । महोत्सवको उद्घाटन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले गर्ने छन् । गिरी पर्वत जिल्लाबाट पहिलो पटक क्याबिनेट मन्त्री बनेका छन् ।

महोत्सवमा २५० वटा स्टल रहने छ । यस पटक स्थानीय व्यवसायीलाई ५० प्रतिशत छुटमा स्टल सुविधा दिइएको छ । 

स्थानीय लघु, घरेलु, तथा व्यवसायीलाई निःशुल्क स्टलको सुविधा दिइएको छ । स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गर्न निःशुल्क स्टल दिइएको हो । 

महोत्सवमा ५ करोडभन्दा बढीको कारोबार गर्ने अपेक्षा लिइएको छ । समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन, पर्वतका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसार, पर्वत जिल्लामा उत्पादित वस्तुहरूको प्रवद्र्धन र प्रचार प्रसार, लोक संस्कृतिको संरक्षण र सम्वद्र्धन, स्थानीय उत्पादन, उद्योग, व्यापार र व्यवसायको विस्तार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने महोत्सवको उद्देश्य रहेको छ । 

महोत्सवमा विश्वकै अग्लो दापी गरिएको बन्जी जम्प, जिपलाइन, कालीगण्डकी नदीमा  र्‍याफ्टिङ, नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, कुश्मा बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफाको अवलोकन, अल्लोको कपडा, लोकताको नेपाली कागज, सुन्तलाको जुस, मह, जडीबुटी, अदुवा र लप्सीका परिकारहरूको प्रदर्शनी मुख्य आकर्षण रहने छन् । 

महोत्सवमा गण्डकी प्रदेश पालिका स्तरीय भलिबल खेल प्रतियोगिता पनि आयोजना गरिएको छ । २ लाख राशिको भलिबल प्रतियोगिता पर्वत जिल्लामा अहिलेसम्मको सबैभन्दा ठुलो पुरस्कार राशि हो । यस्तै ५० हजार राशिको महिला भलिबल प्रतियोगिता पनि आयोजना गरिने छ ।

त्यस्तै झाँकी प्रदर्शनी तथा जिल्लास्थित विभिन्न जनजातिहरूका फरक फरक सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, छेलो प्रतियोगिता, खुल्ला दौड, तिर हान्ने प्रतियोगिता राष्ट्रिय खानाका परिकार, स्थानीय उत्पादनहरूको बिक्री तथा औद्योगिक प्रदर्शनी, शैक्षिक, कृषि र फोटो प्रदर्शनी समेत गरिने छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था पनि गरिएको महोत्सव सचिवालयले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्