शीतलहर र कार्बन मोनोअक्साइडका कारण अफगानिस्तानमा १०० जनाभन्दा बढीकाे मृत्यु

काबुल, मंगलबार, माघ १०, २०७९

अफगानिस्तानमा गत २ हप्तामा चिसो मौसम र कार्बन मोनोअक्साइड विषाक्तताका कारण १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

विभिन्न प्रान्तह कम्तीमा १०४ जनाको मृत्यु भएको छ भने ५० घर क्षतिग्रस्त भएकाे तालिबान नेतृत्वको मन्त्रालयका प्रवक्ता शफे रहिमीले बताएका छन् ।

अफगानिस्तानको घोर प्रान्तका स्थानीय अब्दुल जाहिरले चिसो मौसमका कारण आफूले एक सन्तान गुमाएको र अहिले गम्भीर आर्थिक अवस्था झेलिरहेको बताएका छन् ।

‘मेरा सबै बच्चा बिरामी छन्। तिनीहरूमध्ये १ जनाको मृत्यु भयो र अरू ३ जना अस्पतालमा छन्,’ उनले टोलो न्युजलाई बताएका छन् ।

टोलो न्युजका अनुसार कमजोर आर्थिक अवस्था भएका परिवारहरू प्रायः यस मौसममा अत्यधिक चिसोको सिकार हुने गर्छन् । फर्याब प्रान्तका बासिन्दा मोहम्मद अजिमले भने, ‘धेरै परिवारसँग खानेकुरा, पिउने पानी र अन्य आधारभूत कुरा केही पनि छैन ।’

तालिबान नेतृत्वको सूचना तथा संस्कृति मन्त्रालयको तथ्यांकअनुसार विगत २ हप्तामा चिसोका कारण दसाैँ हजार गाईवस्तु मरेका छन् ।

टोलो न्युजले हालै उल्लेख गरेअनुसार अफगानिस्तानको हेरात प्रान्तमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण कम्तीमा १४० जनालाई अस्पतालमा भर्ना गरिएको छ । अस्पतालमा भर्ना हुनेमा बालबालिका र महिला धेरै छन् ।

हेरातका बासिन्दाहरूले कडा जाडोमा घर न्यानो पार्न प्रयोग हुने ग्यास र दाउराको मूल्य बढेको गुनासो गरेका छन् ।

साेमबार २४ घन्टामा अस्पतालको आपतकालीन वार्डमा १३० देखि १४० जना बिरामी ल्याइएको अस्पतालका प्रमुख अहमद फरहाद अफजालीले टोलो न्युजलाई बताएका छन् ।

तापक्रममा अचानक आएको गिरावटले समस्याग्रस्त देशमा गरिबी र खाद्यान्न र इन्धनको अभावबाट ग्रस्त भएका मानिसहरूलाई अझ नराम्ररी असर गरेको छ ।

चिसोका कारण ४ प्रदेशमा १६ जनाको मृत्यु भएको टोलो न्युजले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ०८:०७
प्रतिक्रिया दिनुहोस्