कृषिमा अनुदान पाएपछि कृषक खुसी

आइतबार, माघ ८, २०७९

काठमाडौँ – इलामको पश्चिमी गाउँपालिका माङ्सेबुङले कृषि उत्पादन अभिवृद्धिका लागि अनुदान दिन थालेपछि स्थानीय कृषक हर्षित भएका छन् ।

माङ्सेबुङ वडा नं १ का कृषक देवीप्रसाद अधिकारीले एक क्विन्टल कफी उत्पादन गर्दा पालिकाले २ हजार अनुदान दिने गरेको बताए। पछिल्लो समय कफी खेतीको पकेट क्षेत्रका रूपमा विकास भइरहेको माङ्सेबुङमा अनुदान पाउन थालेपछि परम्परागत धान, मकै, कोदो, फापर बाली लगाइरहेका किसान अब कफी खेतीमा आकर्षित भएका छन् ।

उनले माङ्सेबुङ–१ मा घरैपिच्छे कफी खेती गरिएको जनाउँदै प्रतिक्विन्टल १० हजारका दरले पाकेका कफीका दाना गाउँमै बिक्री हुने गरेको र त्यसमा पालिकाले २ हजार अनुदान थपिदिने गरेको बताए।

माङ्सेबुङ–१ का वडाध्यक्ष भुपाल योङहाङले कृषि उत्पादन वृद्धि गर्न हौसला होस् भनेर गाउँपालिकाले दूध, दाल, बाँस, स्कुस, केरालगायतका बालीमा पनि कृषकले सोझै पाउने गरी अनुदानको व्यवस्था गरिएको जानकारी दिए।

उनका अनुसार किसानले कालो र पहेँलो दालमा प्रतिकेजी १ सय, दूध प्रतिलिटर २, माली बाँस प्रतिझ्याङ १ सय, स्कुस प्रतिझ्याङ १ हजार र केरा प्रतिझ्याङ १ सय अनुदान पाउने गरेका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा कृषि उत्पादनमा अनुदान दिनका लागि १६ लाख रकम छुट्याएको उनले बताए ।

‘इलामको दुर्गम क्षेत्र भएकाले यहाँ बाटोघाटो र अरु पूर्वाधारको त्यति राम्रो विकास भइसकेको छैन, किसानले फलाएको बालीले उचित बजार नपाउँदा झन् समस्या हुने भएकाले पालिकाले अनुदान दिएर भए पनि किसानलाई प्रोत्साहित गर्ने नीति लिएको हो,’ उनले भने  ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  ०९:२८
प्रतिक्रिया दिनुहोस्