नेभिगेशन
विज्ञान प्रविधि

व्यवसायीलाई चाकुको माग धान्न भ्याइनभ्याइ

भक्तपुर–माघे संक्रान्ति आइसक्यो । मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याइनभ्याइ छ ।


मध्यपुरथिमिमा ५८ वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गर्नुभएको चाकु बनाउने पेसा नाती पुस्तासम्म पनि प्रख्यात छ । माघे संक्रान्ति नजिकिएसँगै उत्तमराज श्रेष्ठको परिवार १ महिना अघिदेखि चाकु बनाउन व्यस्त छ । 


थिमिमा चाकु उत्पादन गर्ने पुरानो र एकमात्र गणेश चाकु वासको नामबाट प्रख्यात श्रेष्ठले माघे संक्रान्तिका लागि मात्रै नभई वर्ष दिनभरि नै चाकु बनाउँछन् । यहाँको चाकु र पुष्टकारी स्वदेशमा मात्रै नभई विदेशमा पनि प्रख्यात रहेको बताउँछन् व्यवसायी श्रेष्ठ । माघे संक्रान्तिले भीड बढेको र जाडो बढेकाले चाकुको माग धान्न धौ धौ परेको उनको भनाइ छ । १ महिनादेखि उनको परिवारसहित दैनिक २५ जना चाकु र तीलको कालो तथा सेता लड्डु (तिलौरी) बनाउन व्यस्त छन् ।


सुत्केरीले यहाँको चाकु खाँदा चिसो नलाग्ने, बच्चाका लागि पर्याप्त दूध आउने, सुत्केरीलाईसमेत सहज हुने भएकाले जाडोमा मात्र नभई गर्मीमा चाकु लिन यहाँ आउने गरेको उनी बताउँछन् । यहाँका सुदीप श्रेष्ठ जाडोमा र वैशाख जेठमा दैनिक सातदेखि १०, असोज कात्तिकमा १५ देखि २० किलो चाकु र पुष्टकारी बिक्री हुने गरेको सुनाउँछन् । जाडो बढेपछि दैनिक ५० किलोसम्म चाकु र पुष्टकारी बिक्री गर्ने गरेको र माघे संक्रान्तिलाई उपत्यका र बाहिरबाट माग अत्यधिक आउने भएकाले दैनिक २ सय किलोसम्म बिक्री हुने गरेको उनी बताउँछन् । 


भकभकी उम्लिएको दूधमा सख्खर, नरिवल, छोगडा, कुराउनी र विभिन्न मसलाको प्रयोग गरेर बनाइने चाकु लिन भक्तपुर, काठमाडौँ, ललितपुर, साँखु, पनौती र उपत्यका बाहिरबाट समेत आउने गरेको उनको भनाइ छ ।
केही वर्ष अगाडिसम्म प्रतिकिलो ५०० रुपैयामा बिक्री गरेकोमा कच्चा पदार्थको मूल्य बढ्दै गएपछि अहिले किलोको ७०० रुपैयामा बिक्री भइरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्