सेतो छडीवाला आचार्य सर

...त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरे ।
शनिबार, पुस ३०, २०७९

काठमाडौँ– बिहान सबेरै उठेर कलेज जान मन सायद कमै विद्यार्थीमा हुन्छ । म पनि तिनै विद्यार्थीमध्ये थिएँ, जुन बेला म स्नातक तहका लागि काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा भर्ना भएँ ।

 

कक्षाको अन्तिम बेन्चमा आफ्नै धुनमा बसिरहेकी थिएँ म, जब मैले उनको आवाज पहिलो पटक सुनेँ ।

 

उनको पढाउने शैलीबाट प्रभावित भई विद्यार्थीहरू ध्यान दिएर सुनिरहेका थिए । मलाई भने साहित्यप्रति खासै रुचि थिएन । अब रुचि नै नभएको विषयबारे खासै ज्ञान हुने कुरा पनि भएन ।

 

त्यसो भए किन पढेको त ? भन्ने प्रश्न स्वाभाविक रूपमा आउन सक्छ । यसका कारण धेरै हुन सक्छन् । तर उनको पढाउने शैलीबाट म प्रभावित हुन पुगेँ ।

 

पहिलो वर्षको सुरुआती दिनमा नै प्रत्येक विद्यार्थीको मन जित्न सफल भएका उनी हुन्– रत्न राज्यलक्ष्मी क्याम्पसका ‘मेजर नेपाली’का प्रध्यापक डा. गोविन्दप्रसाद आचार्य ।

 

टेबलमा बसेर साधारण शिक्षकले जस्तै पढाउँदै गरेका आचार्यले कक्षा सकिएपछि बाहिर निस्किनका लागि भने सेतो छडीको सहायता लिए । अनि थाहा भयो– उनी दृष्टिविहीन रहेछन् ।

 

अर्घाखाँचीमा जन्मिएका आचार्य हाल कीर्तिपुर बस्छन् । उनी शिक्षकसँगै कवि र समालोचक पनि हुन् । सानै उमेरबाट पढाइतर्फ असाध्यै रुचि राख्ने आचार्य २०३३ सालतिर पढ्न भनेर काकाको साथ लागेर काठमाडौँ आइपुगे ।

 

उनले कीर्तीपुरको ल्याबोरेटरी विद्यालयमा कक्षा १० सम्म पढे । त्यसपछि कानुन पढ्न पोखरा गए । तर, कानुनी विषय छाडेर उनले महेन्द्र रत्न क्याम्पसबाट शिक्षा संकाय पढे । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरे ।

 

माध्यमिक तहबाट पढाउन सुरु गरेका आचार्यले हाल स्नातक तहका विद्यार्थीहरूलाई मेजर नेपाली पढाउँछन् । मंगल माध्यमिक विद्यालयमा सरकारी जागिर खाँदै गरेका उनले सो जागिर छाडेर रत्न राज्य क्याम्पसमा करारमा प्राध्यापन थालेका हुन् । आचार्य अहिले स्थायी भइसकेका छन् ।

 

साधारण मानिसलाई अप्ठ्यारो हुने काम उनले सहज रूपमा गरेको देखेर मेरो मनमा अनेकौँ प्रश्न उब्जिए । सामान्य मानिसको जस्तो इच्छा आकांक्षा उनीहरूमा हुन्छ कि हुन्न ? हुन्छ भने कसरी पूरा गर्छन् ? समाजले दृष्टिविहीनहरूले केही गर्न सक्दैनन् भनिरहँदा उनलाई शिक्षक बन्न के–कस्ता चुनौतीको सामना गर्नुपर्‍यो ? लगायत बारेमा जान्ने जिज्ञासा बढ्यो ।

 

विद्यार्थीलाई आफ्नो साथी जस्तै मान्ने उनको व्यवहारले मलाई ती जिज्ञासाहरू मेटाउन सहज भयो ।

 

‘हामीलाई पनि चलचित्र हेर्ने, राम्रो लुगा लगाउने, नयाँ–नयाँ ठाउँ घुम्न जानेजस्ता अनेकौँ चाहना हुन्छन् । दृष्टिविहीनहरूले पनि सामान्य मानिसले जस्तै हरेक परिस्थितिको सामना गर्न सक्ने र हरेक कुराहरू महसुस गर्न सक्ने हुन्छ,’ आचार्य भन्छन् ।

 

तर, उनलाई दृष्टिविहीनहरूले जहाज पनि उडाउन सक्छन् भन्ने कुरामा भने विश्वास लाग्दैन । ‘चाहेको जति सबै गर्न सकिँदैन, तर जति र जसरी सकिन्छ सोहीअनुसार त्यसको लाभ लिनुपर्छ,’ आचार्य भन्छन् ।

 

सबैको माया पाएर हुर्किएका आचार्यलाई घरपरिवारबाट सधैँ सहयोग मिल्यो । हार मान्नुहुँदैन भन्ने हिम्मतले उनलाई हरेक कदममा साथ दियो । श्रीमतीबाट पनि उत्तिकै सहयोग मिल्यो ।

 

उनी २ छोरीका पिता हुन् । जीवनमा अनेकौँ चुनौतीको सामना गर्दै यो अवस्थासम्म आइपुगेका उनी चाहेका लगभग सबै कुरा पूरा भएको र अहिले आफू सन्तुष्ट रहेको बताउँछन् ।

 

दृष्टिविहीनहरूका लागि केही गर्ने आशाका साथ उनी राजनीतिमा पनि प्रवेश गरे । तर उनलाई क्षमताको हिसाबमा कमजोर ठानेर कसैले मौका दिएनन् ।

 

‘नेपालमा अपाङ्गता भएकाहरूका लागि भनेर थुप्रै संघसंस्था खुलेका छन् । तर ती संघसंस्थाले उनीहरूका लागि खासै काम भने गरेका छैनन्,’ आचार्य गुनासो गर्छन् ।

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  ०९:४०
प्रतिक्रिया दिनुहोस्